ad ad

राजनीति


शुक्रबार छुट्दै विप्लवका दाजु, कहाँ छन् पक्राउ परेका ७ केन्द्रीय नेता?

शुक्रबार छुट्दै विप्लवका दाजु, कहाँ छन् पक्राउ परेका ७ केन्द्रीय नेता?

उजिर कार्की
फागुन २०, २०७७ बिहिबार १६:२४,

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ सचिवालयसहित ७ केन्द्रीय नेता थुनामा छन्। सरकार र उक्त पार्टीबीच सहमति भएसँगै उनीहरुलाई जतिसक्दो छिटो छाड्ने तयारी सरकारले गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई भोलि नै छाडिने भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भुपेन्द्र खत्रीले बास्तोलालाई शुक्रबार छाड्ने तयारी भएको बताए।

‘हामीले उहाँमाथिको अनुसन्धान सकेका छौं, भोलि नै सरकारी वकिल कार्यालयमा फाइल बुझाउँछौँ, सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गर्न सक्छ, त्यसपछि उहाँ छुट्नुहुन्छ’, एसपी खत्रीले भने।

बास्तोलालाई आवश्यक प्रक्रिया पुरा गरेर भोलि नै छाड्न गृह मन्त्रालयबाट निर्देशन भएको छ। अदालतमा मुद्दा नपुगेका सबैलाई भोलि नै छाड्न निर्देशन दिइसकिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए। काभ्रे प्रहरीले बिहीबार नै सरकारी वकिल कार्यालयसँग बास्तोलाको मुद्दाका विषयमा छलफल गरिसकेको छ।

यस्तै विप्लवका दाइसमेत रहेका उक्त पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्दलाई पनि शुक्रबार नै छाड्ने तयारी भएको छ।

तर चन्दविरुद्धको मुद्दा अदालतमा पुगिसकेकाले अदालतको आदेशपछि मात्रै उनी छुट्नेछन्। यसका लागि सरकारी वकिल कार्यालयले पहिले मुद्दा फिर्ता लिनु पर्नेछ।

उनी पनि भोलि नै छुट्ने सम्भावना रहेको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए।

‘उहाँको मुद्दा अदालतमा पुगिसकेको छ, अब हाम्रो हातमा छैन तर सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता लिएपछि अदालतले भोलि नै निर्णय गर्न सक्छ’,  उनले भने।

अन्य जिल्लामा रहेका केन्द्रीय नेतालाई पनि तत्काल छाड्ने तयारी भएको छ। अर्का सचिवालय सदस्य हेमन्तप्रकाश ओली ललितपुरस्थित नक्खु कारागारमा छन्।

केन्द्रीय सदस्य माइला लामा संखुवासभामा छन् भने केन्द्रीय सदस्य चुडामणि वली बाजुरामा थुनामा छन्। बर्दियामा रहेका केन्द्रीय सदस्य भरत बमलाई काठमाडौंस्थित केन्द्रीय कारागारमा ल्याइएको छ। केन्द्रीय सदस्य ओमप्रकाश पुन कैलालीमा थुनामा छन्।

प्रतिबन्धपछि पक्राउ परेर हाल थुनामा रहेका विप्लवका ७ नेता उनीहरु मात्रै हुन्। २ हजार बढीलाई पक्राउ गरेर मुद्दा चलाएको भए पनि डेढ सय मात्रै हाल थुनामा छन्। तीमध्ये १ सय २६ जना पुर्पक्षका लागि कारागारमा रहेको प्रहरीको तथ्यांक छ।

सरकारले विप्लवसँग तीन बुँदे सहमति गरेसँगै उनीहरुमाथिको मुद्दा फिर्ता लिएर रिहा गर्ने भएको हो।

सरकारी वार्ता टोलीका संयोजक समेत रहेका गृहमन्त्री रामबहादुर थापाले सरकारले सहमति तत्काल कार्यान्वयन गर्ने बताइसकेका छन्। गृह मन्त्रालयले प्रक्रिया पुरा गरेर रिहा गर्न बिहीबार नै मातहतलाई निर्देशन दिइसकेको छ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले २०७५ फागुन २८ गते लगाएको उक्त पार्टीमाथिको प्रतिबन्ध पनि फकुवा गर्ने निर्णय गरिसकेको छ।

सरकार र विप्लवका नेताले शुक्रबार नै संयुक्त सभाको घोषणा गरिसकेका छन्। सभालाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .