ad ad

राजनीति


कांग्रेस र जसपासँग सहकार्यको प्रस्ताव राख्दै नेपालले भने, ‘सबै विकल्पमा खुल्ला छौँ’

कांग्रेस र जसपासँग सहकार्यको प्रस्ताव राख्दै नेपालले भने, ‘सबै विकल्पमा खुल्ला छौँ’

नेपालखबर
फागुन २०, २०७७ बिहिबार १३:१४,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा ‘वर्तमान राजनीतिक संकट र त्यसको समाधान’ विषयक विचार गोष्ठिमा बोल्दै अध्यक्ष नेपालले आफूहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यका लागि छलफल गर्न तयार रहेको बताएका हुन्।

वर्तमान राजनीतिक समस्या समाधान गर्न माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड बाधक नबन्ने भन्दै उनले मिलेर जानको निम्ति जुनसुकै विकल्पको निम्ति पनि आफूहरु तयार रहेको बताए। प्रतिगमका विरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाई छ।

उनले भने, ‘नेपाली कांग्रेस र जसपा नेतृत्वलाई भन्न चाहान्छु, बैठक बसौँ। सहकार्य गरौँ। खुल्ला रुपमा छलफल गर्न तयार छौँ। कुन ढंगले गर्दा हुन्छ हामी सबै अप्शनको निम्ति तयार छौ। हामी बाधक होईनौँ। हामि समस्या होईनाैँ। हामी समस्या समाधानको निम्ति तयार छौँ। पार्टीहरु नमिलेर उपाय छैन। प्रतिगमनका विरुद्ध संघर्षको मैदानमा उभिएका दलहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्छ। सँगसँगै जान सकिन्छ भन्नेकुराको विगतमा पनि हामीले उदाहरण प्रस्तुत गरेका छौँ, नसकिने कुरा होइन। सहमती ठोस रुपमा गरेर जाने हो भने विवाद मात्रै हुन्छ भन्ने ठान्नु हुँदैन।’

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका निम्ति निर्वाचन आयोगले निष्पक्ष रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद निरुपण गर्नुपर्ने बताए। प्रतिगमनका विरुद्धमा अघि बढेका शक्तिहरुबीच सहमती गरी सरकार गठन गर्नुपर्ने बताए। सरकारको प्रधानमन्त्री को भन्ने भन्दा पनि प्रणालीलाई संस्थागत गर्नु महत्वपूर्ण कुरा भएको उनले बताए।

उनले भने, ‘जो प्रतिगमनका विरुद्धमा, असंवैधानिक कदमका विरुद्धमा लोकतन्त्रका लागि अघि बढे। ति सबै शक्ति बसेर सहमति किन नगर्ने? साझा चिन्ताको आधारमा अर्को सरकार गठन गर्ने। अहिलेको अवस्थामा सरकारको प्रधानमन्त्री को बन्ने भन्दापनि सिस्टमलाई कसले जोगाउने? संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसले संस्थागत गर्ने त्यो महत्वपूर्ण कुरा हो।’

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले छिट्टै निर्वाचन गर्ने सहमतीका साथ ओली बाहेकका शक्तिहरु मिलेर चुनावी सरकार बनाउनुपर्ने बताए।

उनले भने, ‘केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ। त्यस निम्ति हिजो संसद पुनर्वहाली हुनुपर्छ भन्ने शक्तिहरु सबै मिलेर। त्यसपछि समस्याको समाधान निर्वाचन नै हो। अर्लि इलेक्शन गर्ने। एउटा चुनावी सरकार, केपी ओलीको कित्ता बाहेकको चुनावी सरकार। निर्वाचन गर्ने सहमतिमा अगाडि बढ्ने अबको विकल्प हो।’

देशमा नैतिकता विहिन राजनीति रहेको भन्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा नदिएर लोकतन्त्रको धज्जी पनि बताए। ओलीले संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने स्थिति भए लज्जाको विषय हुने पनि उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .