राजनीति


पार्टी फुट्न नदिन घनश्याम भुसाल र शंकर पोखरेलबीच सिंहदरबारमा छलफल

पार्टी फुट्न नदिन घनश्याम भुसाल र शंकर पोखरेलबीच सिंहदरबारमा छलफल

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ११:४५,

प्रतिनिधिसभा पुनर्स्थापनापछि नेकपा विभाजित अवस्थामा छ। यद्यपि औपचारिक विभाजन भने भइसकेको छैन।

केही नेताहरु अझै पनि पार्टीलाई एकजुट राख्न प्रयासरत छन्। सोही क्रममा दुवै समूहका दोस्रो तहका नेताहरुबीच छलफल भएको छ।

पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबीच बिहीबार अपरान्ह सिंहदरबारमा छलफल भएको हो।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भुसालले पोखरेलसँग पहिलेदेखि नै छलफल भइरहेको र बिहीबारको भेटपनि त्यसैको निरन्तरता भएको बताएका थिए।

सर्वोच्च अदातलले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय गैरसंवैधानिक भएको भन्दै बदर गरेपछि एकताको सम्भावना खोज्न दुवै पक्षका दोस्रो तहका नेताहरुले अनौपचारिक रुपमा छलफल गर्दै आएका छन्।

प्रचण्ड–नेपाल पक्षका घनश्याम भुसाल, वर्षमान पुन, योगेश भट्टराई र जनार्दन शर्मा तथा ओली समूहका महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, संसदीय दलका उपनेता सुवास नेम्वाङ, पर्यटनमन्त्री भानुभक्त ढकालसहितका नेताहरुबीच छलफल भएको थियो।

यस्तो छलफलमा सहभागी रहेका प्रचण्ड नेपाल समूहका नेताहरुले भने अन्य विकल्पको विषयमा छलफलमा प्रवेश गर्नुअघि नै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने सर्त राख्दै आएका छन्।

‘पहिलो सर्त भनेको प्रधानमन्त्रीको राजीनामा हो। त्यसपछि मात्रै अन्य विकल्पको विषयमा छलफल गर्न सकिन्छ भन्ने हो,’ प्रचण्ड–नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले भने।

तर, प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने बताउँदै अविश्वास प्रस्ताव ल्याएर देखाउन चुनौती दिँदै आएका छन्।

यो पनि : 
प्रधानमन्त्रीले राजीनामा नगरेपछि निराश भए एकतामा जुटेका यी नेता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad