प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले विशाल भट्टराईलाई सांसदकै जिम्मेवारीमा मात्र सीमित रहन निर्देशन दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिनपहिले मुख्यसचेतक नियुक्त गरेका भट्टराईलाई विभाजित नेकपाको अर्को पक्षले उनलाई कुनै थप भूमिका नगर्न सचेत गराएको हो।
ओलीले संसदमा सांसदहरुलाई ह्वीप लगाउने, बैठकलगायत विभिन्न गतिबिधिबारे सूचना तथा जानकारी गराउन सक्ने मुख्य सचेतकको भूमिका दिइएका भट्टराईलाई प्रचण्ड–नेपालले भने सांसदको जिम्मेवारीमा मात्र रहन भनेको हो।
बुधबार कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले भट्टराईलाई केन्द्रीय समितिबाट पनि निलम्बन गरेको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए।
‘हाम्रो पार्टीको तर्फबाट प्रमुख सचेतक देव गुरुङ हुँदाहुँदै उनी प्रमुख सचेतक बन्न गएकाले विशाल भट्टराईलाई कारबाही गरेर केन्द्रीय समितिबाट हटाइएको छ,’ चौलागाईंले नेपालखबरसँग भने, ‘अब उहाँलाई सांसदको जिम्मेवारीमा रहन सचेत गराइएको छ।’
उनका अनुसार अब भट्टराईले कुनैपनि सांसदलाई ह्वीप लगाउन पाउने छैनन्।
बैठकले स्थायी समिति सदस्य तथा दलका उपनेता सुवास नेम्वाङलाई स्थायी समितिबाट निलम्बन गरेको छ भने तीन दिनभित्र उपनेता पदबाट राजीनामा गर्न पनि निर्देशन दिएको छ।
उपनेतामार्फत मुख्यसचेतकले दलहरुलाई संसदमा हुने भोटिङ लगायतका विषयमा ह्वीप लगाउन सक्छन्।
अब त्यस्तो कुनै गतिबिधि नगर्न भट्टराईलाई केन्द्रीय कमिटीले निर्देशन दिएको छ।
प्रतिनिधि सभा पुनस्र्थापना भएपछि फागनु १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए। ओलीले प्रचण्ड–नेपाल पक्षमा रहेका गुरुङलाई मुख्य सचेतकबाट हटाएपछि प्रचण्ड–नेपाल पक्षले भट्टराईलाई सांसदको जिम्मेवारीमा मात्र रहन निर्देशन दिएको हो।

प्रतिक्रिया