सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेपछि त्यसको खुसियालीमा नेकपा प्रचण्ड-नेपाल समूहले रुपन्देहीमा विजयी र्याली निकालेको छ।
रुपन्देही जिल्ला सदरमुकाम भैरहवाको बुद्धचोकबाट र्याली निकालिएको हो । र्याली बर्मेलीटोल, नारायणस्थान, प्रहरीटोल हुँदै मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
र्यालीमा सहभागीले अदालतको प्रशंसा गर्दै नारा लगाएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी भएको बताएका थिए।
सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताउँदै र्यालीमा सहभागी प्रधानमन्त्री ओलीको असंवैधानिक, प्रतिगमनकारी निर्णय बदर गरेर मुलुकलाई अस्थिरताबाट जोगाएका जनाएका थिए। उनीहरुले प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा पनि दिनुपर्ने माग गरे।
कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्यहरु बामदेव क्षेत्री, हकिकुल्लाह खाँन, संविधानसभा सदस्य आदित्यनारायण कसौधन, नेकपा जिल्ला अध्यक्ष राजु गुरुङले प्रधानमन्त्रीको अहम् र कुण्ठाले मुलुकलाई अस्थिर बनाउन खाजेको भए पनि अदालतले त्यसलाई बदर गरेको जनाएका थिए। उनीहरुले ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरे।
लामो संघर्ष र बलीदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा ओली लागेको उनीहरुको जिकिर छ। मूल नेकपा आफूहरु भएको र चुनाव चिन्ह पनि आफूहरुले नै पाउने दावी गर्दै नेताहरुले केही समय विचलित भएका नेता कार्यकर्ताहरुलाई मूल पार्टीमा फर्किन आग्रह गरे।
Shares

प्रतिक्रिया