नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रचण्ड–माधवले प्रधानमन्त्रीको पद किस्तीमा हालेर कांग्रेसलाई बुझाउन लागेको आरोप लगाएका छन्।
उनले आफ्नै पार्टीको सरकार ढालेर शेरबहादुर देउवा, बाबुराम भट्टराई र उपेन्द्र यादवहरुलाई प्रधानमन्त्रीको अफर गर्दै हिँड्नु ‘गद्धारी’ हुनेसमेत बताए।
राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै युवा संघका इन्चार्ज नेता बस्नेतले अब पनि प्रधानमन्त्री केपी ओली नै बन्ने र ओलीकै वरिपरी नेपालको राजनीति घुम्ने दाबी गरे।
बस्नेतले अब तीनवटा विकल्प रहेको पनि औँल्याए। पहिलो विकल्पको रुपमा अबको प्रधानमन्त्री केपी ओली नै रहने, दोस्रो विकल्पको रुपमा संविधान अनुसार पुनः अर्को नयाँ सरकार बन्ने अवस्था नभएपछि पुनः निर्वाचनमा गई ताजा जनादेश तथा तेस्रो विकल्पको रुपमा मावध–प्रचण्डद्वारा आत्मघाती विकल्पको रुपमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने रहेको उनको भनाई थियो।
अदालतको फैसलाले २०५२ साल देखी २०६२ सालबीचको जस्तो द्वन्द्वमा फस्ने खतरा रहेको औंल्याउँदै उनले संसद पुनर्स्थापनाले नेपालको राजनीति कांग्रेसको हातमा पुर्याउनेहरुले विजयी जुलुश निकालेको समेत बताए।
उनले बाबुराम भट्टराई र झलनाथ खनाल उपचारको बहानामा विदेशीको इशारामा चलेको दाबी पनि गरे।

प्रतिक्रिया