राजनीति


काभ्रेमा सतारुढ नेकपाका केन्द्रीय सदस्यको गाडी तोडफोड, गोकुल बाँस्कोटाले गरे बिरोध

काभ्रेमा सतारुढ नेकपाका केन्द्रीय सदस्यको गाडी तोडफोड, गोकुल बाँस्कोटाले गरे बिरोध

नेपालखबर
फागुन १०, २०७७ सोमबार ४:१७,

काभ्रेको चौँरीदेउराली गाउँपालिका-५ मा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चढेको गाडी तोडफोडसहित आगजनीको प्रयास भएको छ।

आज (सोमबार) गाउँपालिकाको ५ नम्बर वडा कमिटीले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन गएका केन्द्रीय सदस्यत्रय चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतमले चढेको गाडी तोडफोड भएको छ। नेताहरु बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको प्रहरीले जनाएको छ।

करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्न लाग्दा १०ः३० बजे गाडी तोडफोड गरेको हो। गौतमका अनुसार चालकले पार्किङ गर्न नपाउँदै गाडी तोडफोड भएको हो। ‘पेट्रोल झिक आगो लगाउनुपर्छ भन्दै सोही गाडीबाट पेट्रोल निकाल्ने प्रयास गर्दा नेता र स्थानीयवासी प्रतिकारमा उत्रन थालेपछि उनीहरु भागे,’ गातमले भने।

केन्द्रीय सदस्यहरू आइतबार चौँरीदेउरालीकै धुसेनीमा कार्यक्रम गरेर नेता गौतमको घरमा बास बसेका थिए।

त्यहाँ केन्द्रीय सदस्यत्रय चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम तथा जिल्ला नेता लेखराज गौतम, इन्द्रबहादुर तामाङलगायत १६ जना बसेका थिए। आक्रमणकारी समूहले काभ्रेकै बिरुवामा समेत नेता बास बसेको तिलक गौतमको घरअघि राति पटकपटक मोटरसाइकल घार्रघुर्र पारेर धम्कीको आभाष दिलाएको नेता गौतमलेब ताए। उनका अनुसार चौँरीदेउरालीमा कुनै पनि कार्यक्रम नगर्न दाहाल–नेपाल समूहका नेताले धम्की दिइरहेका थिए।

‘हाम्रो रगत बगेको ठाउँमा अरु कसैले कार्यक्रम गर्न पाउँदैन’ भन्दै धम्कीपूर्ण भाषामा दाहाल–नेपाल समूहका स्थानीय जनप्रतिनिधि एवं नेताले आफूहरुलाई धम्क्याउँदै आएको नेता गौतमले बताए। गाउँपालिका अध्यक्ष दीननाथ गौतम र स्थानीय नेता मुकुन्द गौतमले जिल्ला नेता इन्द्रबहादुर तामाङलाई समेत सोही भाषामा पटकपटक धम्की दिँदै आएका दाबी ओली समूहले गरेको छ।

पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले आक्रमणकारीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरे। ‘छापामार शैलीमा आक्रमण भएको छ, जनमत घटेपछि गरिएको यस्तो जङ्गली हर्कत सफल हुने छैन, विरोध गर्न पाइन्छ तर विरोधका नाममा आक्रमण हैन’, बाँस्कोटाले भने।

उनले सामाजिक सञ्जालमार्फतसमेत नेकपाकै अर्को समूहलाई ‘नाङ्लो नठटाउन भन्छु, हामी सामना गर्छौँ भाग्दैनौँ’ भनेका छन्।

गाउँपालिकामा सङ्गठन विस्तार गरिरहेको अवस्थामा कार्यक्रम नगर्न केही हप्ता अघिदेखिनै धम्की आइरहेको चौँरीदेउराली गाउँपालिका निवासी युवा सङ्घका जिल्ला संयोजक विक्रम चौलागाईंले बताए।

‘गाउँपालिकाको कात्तिकेदेउराली र विर्तादेउरालीमा कार्यक्रम नगर्न र गरे आक्रमण हुने धम्की दिएका थिए’ उनले भने। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पवनकुमार झाले घटनाबारे अनुसन्धान भइरहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad