प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं प्रदेश–१ का सांसद भीम आचार्यले प्रदेश सभा भंग गर्ने धम्की नदिन मुख्यमन्त्री शेरधन राईलाई चेतावनी दिएका छन्।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेश सांसद आचार्यले मुख्यमन्त्री राईसँग प्रदेशसभा भंग गर्ने तागत नभएको बताएका हुन्। मुख्यमन्त्रीले प्रदेश सभाका सभामुख, उपसभामुख र सांसदहरुलाई धम्क्याउने र तर्साउने काम गरिराखेको उल्लेख गर्दै सांसद आचार्यले त्यसको कडा प्रतिवाद हुने समेत बताए।
उनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई संसदबाट भागिरहेको बताए। संविधानले नै २५ प्रतिशत सांसदहरुलाई सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने अधिकार दिएको र त्यसलाई प्रक्रियामा लैजानु पर्नेमा संसद नै बस्न नदिइएको बताए।
सरकार आफैले बोलाएको संसद आफैले अवरोध गरिरहेको उनको भनाइ थियो। उनले आफूहरु प्रतिगमनको विरुद्धमा आन्दोलन गरिरहेको र जनताले समेत साथ दिएकोले प्रतिगमनलाई घोडा टेकाएर छाड्ने बताए।
प्रतिगमनकारी मतियार र समर्थकहरुलाई जसरी पनि ट्रयाकमा ल्याउने आचार्यले बताए। प्रदेश सभा बैठक भोलिदेखि लगातार बस्नुपर्ने र अविश्वासको प्रस्तावमा छफफल भई टुंगोमा पुग्नुपर्ने बताए। नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि अविश्वासको प्रस्तावको पक्षमा साथ दिने आचार्यले बताए।

प्रतिक्रिया