भारतीय राज्य लद्दाखस्थित ले जिल्लाको चुसुल गाउँमा भारत र चीनका कमाण्डरबीच वार्त हुने हिन्दुस्तान टाइम्सले जनाएको छ।
चीनले गत वर्षको जुन १५ मा भएको झडपमा आफ्ना चार सेनाको मृत्यु भएको स्वीकारेकै भोलिपल्ट दुई देशका कमाण्डरबीच वार्ता हुन लागेको हो।
त्यसबेला विवादित गलवान उपत्यकामा भएको झडपमा २० भारतीय सेनाको ज्यान गएको थियो। हालसम्म चीनले भने आफ्ना सेनाको मृत्युबारे केही खुलाएको थिएन।
आठ महिनापछि मात्र चीनले आफ्नो सेनाको मृत्यु पुष्टि गरेको हो। गत महिना मात्र चीन र भारतका कमाण्डरबीच ९ औं चरणको वार्ता भएको थियो।
सो वार्तामा पाङगोङ सो ताल वरपरबाट दुवै देशका सेनाहरु हटाइने सहमति भएको थियो। सहमतिअनुसार यतिबेला दुवै देशका सेना पछाडि फर्किसकेका छन्।
अब दशौं चरणको वार्ताले सीमा विवाद थप कम हुने अनुमान गरिएको छ।
यसैबीच अब चाँडै नै चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच सीमा विवादकै विषयमा छलफल हुने पनि हिन्दुस्तान टाइम्समा जनाइएको छ।

प्रतिक्रिया