बुधबार दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडल पक्षको छुट्टै बैठक बसिरहेको छ।
महाधिवेशनको मिति र समसामयिक राजनीतिक विषयमा छलफलका लागि बोलाइएको केन्द्रीय समिति बैठकअघि पौडेल समूहका केन्द्रीय सदस्यहरु छुट्टै छलफलमा जुटेका हुन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहको बैठक बसिरहेको र उक्त बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरु सहभागी भएको महामन्त्री कोइरालाका निजी सचिव भरत तिवारीले जानकारी दिए।
केन्द्रीय समिति बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका, वर्तमान केन्द्रीय समितिको समयावधि थप गर्ने, प्रतिनिधिसभा विघटनविरुद्धको पार्टीको आन्दोलनको समीक्षा र भावी कार्यक्रमलगायत समग्र विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म १४ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका निर्धारण गरेको पनि महाधिवेशन नहुने भएपछि छलफलका लागि केन्द्रीय समिति बैठक बोलाएको हो।
बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नका लागि पौडेलले समूहले छुट्टै बैठक बोलाएको हो।
‘तोकिएको समयमा महाधिवेशन नभएपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गर्न छुट्टै बैठक बसेको हो, अहिले त्यही विषयमा छलफल भइरहेको छ’, एक नेताले भने।

प्रतिक्रिया