राजनीति


राष्ट्रपतिद्वारा वसन्त श्रवण

राष्ट्रपतिद्वारा वसन्त श्रवण

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ११:६,

राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण गरेकी छन्।

प्रत्येक वर्ष माघशुक्ल पञ्चमीका दिन हनुमानढोकाको नासलचोकमा राष्ट्राध्यक्षबाट वसन्त श्रवण गर्ने परम्परा मल्लकालदेखि सुरु भएको हो।

समारोहमा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत संवैधानिक निकायका प्रमुख, उपप्रधानमन्त्री, मन्त्रिगण, सुरक्षा निकायका प्रमुखलगायत राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो।

समारोहमा हनुमानढोका दरबार हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले ‘गीत गोविन्द’ महाकाव्यको दोस्रो अध्यायमा संस्कृत भाषामा रहेको वसन्त श्रवण गराएका थिए। सो अवसरमा नेपाली सेनाले सलामी दिनाका साथै राष्ट्रियगान र पञ्चबाजासमेत प्रस्तुत गरिएको थियो।

मल्लकालमा वसन्तपुरको मोहनचोकमा वसन्तोत्सव मनाउने गरिएको थियो। कामदेवलाई माघशुक्ल पञ्चमीका दिन पूजा गरी वसन्तोत्सव गर्ने गरिएको हनुमानढोका दरबारमा रहेको अभिलेखमा उल्लेख गरिएको दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए।

newrastapati

भक्तपुरमा रहेको जितामित्र मल्लको विसं १७४५ को अभिलेख र भूपतीन्द्र मल्लको विसं १७५५ को अभिलेखमा भने श्रीपञ्चमीमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने गरेको उल्लेख गरिएको पनि उनले बताए। शाहकालदेखि भने हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण गर्ने परम्परा सुरु भएको हो।

कार्यक्रममा नेवारी भाषाको ‘बियाँचली’ रागसमेत गाइने गरिन्छ। सो अवसरमा कलाकारले सितारवादन पनि गरेको जनाइएको छ। वसन्त श्रवणपछि विशिष्ट अतिथिले मूल पुरोहितबाट टीका र प्रसाद ग्रहण गरी फर्कनुभएको हेरचाह अड्डाले जनाएको छ।

वसन्त पञ्चमीका दिन नासलचोकमा पूजाको व्यवस्था निवृत्तिभरण कार्यालयले गर्ने गरेको छ। सुरक्षाको प्रबन्ध गृह मन्त्रालय र वसन्त श्रवण कार्यक्रमको व्यवस्थापन हनुमानढोका दरबार हेरचाह अड्डाले गर्ने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad