राजनीति


प्रचण्डलाई साक्षी राख्दै जसले तोडे जात, १७ वर्षदेखिको प्रेम विवाहमा परिणत

प्रचण्डलाई साक्षी राख्दै जसले तोडे जात, १७ वर्षदेखिको प्रेम विवाहमा परिणत

नेपालखबर
फागुन २, २०७७ आइतबार ३:९,

दार्चुलामा ब्राह्मण परिवारमा जन्मेकी लक्ष्मी जोशी २०६० सालदेखि माओवादी आन्दोलनमा जोडिइन्। विद्यार्थी राजनीतिमा सक्रिय रहेकै बेला वीरेन्द्र बीसी (विश्वकर्मा) सँग उनको चिनजान भयो। र, समयक्रमसँगै त्यो प्रेममा परिणत भयो।

यसै पनि हाम्रो देशमा जातीय विभेद व्याप्त छ। त्यसमाथि सुदूरपश्चिममा जातपात र छुवाछूत झन् चर्काे छ।

यसकारण एउटा दलित युवक र बाहुन युवतीबीचको प्रेम सहज हुने कुरै भएन। झन् विवाह त कल्पनाभन्दा बाहिरकै कुरा। तर पनि कम्युनिस्ट आन्दोलनमा होमिएका उनीहरूले मनमनै अठोट गरे– पार्टीका अध्यक्ष प्रचण्डलाई नै साक्षी राखेर एकदिन बिहे गरेरै छाड्छौं।

धेरै वर्षदेखिको त्यो अठोट उनीहरूले जनयुद्ध दिवसका दिन फागुन १ गते पूरा गरेका छन्। दिवसका अवसरमा पेरिसडाँडा (नेकपाको केन्द्रीय कार्यालय) मा आयोजित समारोहमा हाल नेकपाका अध्यक्ष प्रचण्डको हातबाट टीका र आशीर्वाद ग्रहण गर्दै उनीहरूले जनवादी विवाह गरेका हुन्।

janabadi2

विवाहसँगै यो जोडीले जातको पर्खाल तोडेर देशलाई एउटा गतिलो उदाहरण दिएकाे छ।

स्कुल पढ्दापढ्दै वीरेन्द्र बीसी २०५८ सालमा माओवादी आन्दोलनमा जोडिए। जनयुद्ध उत्कर्षमा पुगेका बेला २०६१ मा उनी बैतडीको उदयदेव माविमा अखिल क्रान्तिकारीको एकाइ कमिटीको अध्यक्ष बने।

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा उनी पार्टीको कञ्चनपुर जिल्ला कार्यालय सचिव बने। २०६७ मा अखिल क्रान्तिकारी सिटीईभीटीको पश्चिम जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिवालय सदस्य बनेका वीरेन्द्र हाल नेकपा कञ्चनपुर जिल्ला सदस्य छन्।

उता २०६० सालदेखि माओवादी आन्दोलनमा जोडिएकी लक्ष्मी जोशी अखिल क्रान्तिकारीको कञ्चनपुर उपाध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म बनिन्। केही समययतादेखि भने उनी सुदूरपश्चिम विश्वविद्यालयमा जागिरे छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad