आन्दोलनरत नेकपा अध्यक्ष प्रचण्डले आफ्नै आँखा अगाडि सहिदका सपना कुल्चिने प्रयास भएको टुलुटुलु हेर्न नसक्ने बताएका छन्।
जनयुद्ध दिवसका अवसरमा आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति सम्मान कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू पनि युद्धबाट थोरैले बाँचेको उल्लेख गर्दै सहिदका सपना कुल्चिने प्रयास भइरहेको दृश्य सहन नसक्ने बताएका हुन्।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्र तथा तिनका सपना कुल्चिने प्रयास गरिरहेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले त्यसविरुद्ध फेरि पनि आफू मर्न तयार रहेको चेतावनी दिए।
हरेक वर्ष सहिदप्रति सम्मान प्रकट गर्ने गरिएको भए पनि अहिलेको परिस्थिति अझ विशिष्ट रहेको उनले बताए।
‘अहिले हामी जस्तो परिस्थितिमा सहिदहरूप्रति सम्मान गर्दै छौं, यसको अलि विशिष्ट अर्थ र महत्व छ भन्ने मलाई लाग्छ,’ प्रचण्डले भने, ‘किनभने ७० वर्ष लडेर शान्तिपूर्ण आन्दोलनको पनि एउटा लामो शृंखला, शसस्त्र आन्दोलन र जनयुद्धको पनि १० वर्ष लामो शृंखला र त्यसमा हजारौंको बलिदानीपछि प्राप्त भएको उपलब्धि भनेको संघीय गणतान्त्रिक लोकतन्त्र अर्थात् समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्वसहितको संविधान हो, जनताको तर्फबाट जारी भएको पहिलो संविधान हो, आज त्यही संविधानमाथि घात गरिएको छ।’
प्रधानमन्त्री तथा सरकारका तर्फबाट भएको यो घात, प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध नेपालका राम्रा दिमाग भएका मानिस जति सबै एकजुट भएको उनले बताए।
ती महान् सहिद जसले बलिदानी गरेर देशलाई यो ठाउँसम्म ल्याइपुर्याउन योगदान गरे, तिनीहरूका सपना कुल्चिने प्रयास भएको छ, त्यसको रक्षा गर्ने हामी मर्नबाट बचेका बाइ द वे बचेका, किनभने हामी पनि आन्दोलनमै लाग्यौं, सशस्त्र र शान्तिपूर्ण दुवै खालका आन्दोलनमा हामी पनि मारिन सक्थ्यौं, हामी बाँचेका छौं,’ प्रचण्डले भने, ‘र, हाम्रै आँखाअगाडि ती महान् सहिद, घाइते, अपांग यौद्धाहरू र लाखौं करोडौं जनताको पहलकदमीबाट प्राप्त उपलब्धि कुल्चिने दुष्प्रयास भएको छ, हामी सहन सक्छौं त !’
उनीहरूको बलिदानीबाट प्राप्त उपलब्धि गुम्न नदिने र जरुरी परे फेरि पनि बलिदानी दिने प्रतिबद्धता व्यक्त गर्ने दिन आज भएको प्रचण्डले बताए।

प्रतिक्रिया