राजनीति


सशस्त्र दमन गर्नुपर्ने अवस्था पनि आउन सक्छ : गृहमन्त्री थापा

सशस्त्र दमन गर्नुपर्ने अवस्था पनि आउन सक्छ : गृहमन्त्री थापा

नेपालखबर
फागुन १, २०७७ शनिबार ४:२०,

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ‘प्रतिक्रियावादी वर्ग’ले सरकारलाई अवरोध गरेका खण्डमा सशस्त्र दमन पनि गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

जनयुद्ध दिवसका अवसरमा आज फागुन १ गते काठमाडौंमा आफू आबद्ध नेकपा ओली समूहनिकट नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले सरकारले समाजवादी कार्यक्रम लागू गर्ने क्रममा ‘प्रतिक्रियावादी वर्ग’ले हतियारै उठाएर अवरोध गर्न पनि सक्ने र त्यस अवस्थामा सरकारले पनि सशस्त्रै रूपमा दमन गर्नुपर्ने स्थिति आउन सक्ने बताएका हुन्।

हिजोजस्तो आज समाजवादी क्रान्तिका लागि सशस्त्र संघर्ष गर्नुपर्ने अवस्था नभएकाे तर प्रतिक्रियावादी वर्गले सशस्त्र रूपमा अवरोध गर्न खोजेमा भने त्यस्तै जवाफ दिनुपर्ने धारणा उनले राखेका हुन्। 

‘हामीले यो समाजवादी क्रान्ति अघि बढाउँदै गर्दा प्रतिक्रियावादी वर्गले भोलि गएर सशस्त्र प्रतिरोध गर्न सक्छ, समाजवादी कार्यक्रम लागू गर्ने क्रममा त्यो अवस्थामा हामीले फेरि हतियार उठाउने, उनीहरूको दमन गर्नुपर्ने स्थिति आउन सक्छ।’

उनले अगाडि भने, ‘प्रतिक्रियावादी वर्गले सशस्त्र प्रतिरोध गरे भने समाजवादी क्रान्तिलाई रोक्न, असफल पार्न भने, सरकारले, सरकारसँग सेना छ, सरकारसँग प्रहरी छ भने त्यो अवस्थामा हामीले उनीहरूलाई सशस्त्र दमन गर्नुपर्ने स्थिति आउन सक्छ।’

तर अहिल्यै त्यो स्थिति नभएको तर भोलिको सम्भावनालाई ध्यानमा राखेर तयारीमा रहनुपर्ने मन्त्री थापाले बताए।

‘हिजो हामीलाई शान्तिपूर्ण ढंगले जनवादी क्रान्ति गर्ने अवस्था थिएन, किनकि सत्ता जनताको हातमा थिएन, प्रतिगामी वर्गको हातमा थियो, त्यसकारण सशस्त्र प्रतिरोध गर्नुपर्ने, हतियार उठाउनैपर्ने त्यो कारणले पैदा भएको थियो भने आज त्यो अवस्था छैन,’ उनले भने, ‘आज हामीले केवल भोलिका सम्भावनाहरूलाई श्रमजीवी वर्गले आफूलाई तयार गर्नुपर्छ।’ 

माओवादी जनयुद्धका एक योद्धा भए पनि थापा प्रतिनिधि सभा विघटनयता विभाजित नेकपाका प्रचण्ड–नेपाल पक्षमा नलागी ओली समूहमा लागेका छन् र जनयुद्धका नायक प्रचण्डको कडा आलोचना गर्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad