सरकारविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षले आज (बुधबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ।
‘धमाधम कार्यक्रमको तयारी भइरहेको छ,’ नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले बुधबार बिहान नेपालखबरसँग भने। उनका अनुसार विरोध सभा दिउँसो १२ बजेपछि सुरु हुने अनुमान छ।
भृकुटीमण्डपमा आयोजना गरिने विरोधसभामा २ लाखभन्दा बढी मानिस सहभागी हुने मञ्च व्यवस्थापन संयोजक सूर्य सुवेदीको दाबी छ।
‘हामीले हिसाब गर्दा २ लाखभन्दा बढी सहभागी हुने देखियो,’ सुवेदीले नेपालखबरसँग भने।
यसकारण भाषण सुन्न सजिलो होस् भनेर पुरानो बसपार्क, राष्ट्रिय सभागृह र भद्रकालीमा डिजिटल स्क्रिन राखिएको उनले जानकारी दिए। साथै रत्नपार्क, बागबजार र त्रिपुरेश्वरमा माइक पनि व्यवस्था गरिने उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल पक्ष आन्दोलनरत छ। यसअघि उसले माघ ९ गते पनि काठमाडौंमै विरोध सभा गरेको थियो।
जुलुसको रुट परिवर्तन
विरोध सभामा आउनेको संख्या सोचेभन्दा बढी हुने देखिएको भन्दै नेकपाले जुलुसको रुट परिवर्तन गरेको छ
अब मूल जुलुस सुन्धारा र केशरमहल गरी दुई ठाउँबाट निस्कने संघर्ष समितिका सदस्य सुवेदीले जानकारी दिए।
‘सोचेभन्दा बढी मास हुने भएपछि जुलुसका रुट परिमार्जन भयो। अब मूल जुलुस सुन्धाराबाट रत्नपार्क हुँदै सभास्थल भृकुटीमण्डप आउनेछ भने अर्को केशरमहलको जुलुस सीधै सभास्थल जानेछ,’ सुवेदीले नेपालखबरसँग भने।
सुन्धाराको जुलुसको नेतृत्व प्रचण्ड–नेपालले गर्नेछन् भने केशरमहलको जुलुसको नेतृत्व संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ, योगेश भट्टराईलगायत नेताले गर्नेछन्। काठमाडौंका ११ स्थानबाट जुलुस निस्कने सुवेदीले बताए।
उपत्यकाको सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनले बताए।
सुवेदीका अनुसार मञ्चको व्यवस्थापन मात्र होइन सुरक्षामा पनि उत्तिकै ध्यान दिइएको छ।
सभामा अध्यक्षद्वय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नेछन्।
सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरी वक्ता चयन गरिएको नेकपा संघर्ष समितिले जनाएको छ।

प्रतिक्रिया