निर्वाचन आयोगले नेकपा पार्टीको नाम र चुनाव चिह्नको विवाद छानबिन गर्ने जिम्मेवारी नयाँ नियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिएको छ।
आयोगले भण्डारीलाई निर्वाचन आयुक्तको शपथ लिएकै दिन अर्थात् गत बुधबार नै जिम्मेवारी दिएको सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए।
‘निर्वाचन आयोगमा आयुक्तहरुको जिम्मेवारी बाँडफाँट भएको छ’, अर्यालले नेपालखबरसँग भने, ‘राजनीतिक दलको विवाद निरुपण गर्ने राजनीतिक दल नियमन र अभिलेख व्यवस्थापन शाखा छ, त्यसको जिम्मेवारी नयाँ आयुक्त रामप्रसाद भण्डारीले पाउनुभएको छ। उहाँलाई नियुक्त भएकै दिन बुधबार नै सो जिम्मेवारी दिइएको हो।’
पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि नेकपा विभाजित अवस्थामा छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले ओलीलाई कारबाही गर्दै अध्यक्षबाट हटाई आफू नै नेकपाको आधिकारिक पार्टी भएको दाबी गर्दै चुनाव चिह्न र नेकपा नाम आफैँले पाउनुपर्ने मागसहित आयोगमा निवेदन दिएको छ।
उता ओली पक्षले पनि आधिकारिक पार्टी आफैँ भएको दाबी गरिरहेको छ। नेकपाको विवाद चुलिएको बेलामा प्रधानमन्त्री ओलीले नियुक्त गरेका भण्डारीलाई दल विभाजनको निरुपण गर्ने जिम्मेवारी दिइएको हो।
संवैधानिक परिषद्ले गरेको विवादित नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दाको किनारा नलाग्दै निर्वाचन आयोगका नयाँ आयुक्त भण्डारीलाई सो जिम्मेवारी दिएपछि चौतर्फी विरोध सुरु भएको छ।
तर, सूचना अधिकारी अर्यालले भने यसलाई आयोगको नियमित प्रक्रिया भएको दाबी गरे।
‘जिम्मेवारी बाँडफाँट गर्ने प्रक्रिया नियमित हो, यसमा आवश्यकताका आधारमा हुने गरेको छ, नयाँ आयुक्त जानकीकुमारी तुलाधरलाई पनि शिक्षासँग सम्बन्धित जिम्मेवारी दिइएको छ’, अर्यालले भने।

प्रतिक्रिया