राजनीति


ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडी देखाएर तर्साउन नखोजः वर्षमान पुन

ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडी देखाएर तर्साउन नखोजः वर्षमान पुन

नेपालखबर
माघ २२, २०७७ बिहिबार १३:१०,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने बताएका छन्।

संवैधानिक परिषदमा गरिएको असंवैधानिक नियुक्तिको विरोधमा नेकपाले बिहीबार गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै नेता पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेरका आफूहरु केपी शर्मा ओली र रामबहादुर थापासँग नतर्सने बताएका हुन्।

बिहीबार बुटवलमा र केही दिनअघि काठमाडौँको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्यांकर गुडाएर तर्साउन खोजिएको भन्दै नेता पुनको आफूहरुलाई नतर्साउन चेतावनी दिए। एनले ओली सधैं प्रधानमन्त्री र थापा सधैं गृहमन्त्री रहिनरहने भन्दै आन्दोलन सफल भएर पदबाट हटेका दिन सेना र प्रहरीले नै उनीहरुलाई उठाएर हिरासतमा राख्ने दाबी गरे।

‘सेनाका बख्तरबन्द गाडी र ट्यांकर निकालेर जनता तर्साउन खोजिएको छ। जनता र हामी सबै लडेर आएका हौँ, तर्सदैनौँ’, पुनले भने, ‘खबरदार, ओली र थापा तिमीहरु सधैं प्रधानमन्त्री र गृहमन्त्री भइराख्दैनौँ। पदबाट झरेको भोलिपल्ट कसैले घिसारेर उठायो भने कसले संरक्षण गर्छ?’

गृहमन्त्री थापाले प्रचण्डलाई सडकबाट उठाउन प्रहरीलाई आदेश दिएको भन्ने कुरा आफूले सुनेको भन्दै पुनले त्यस्तो हर्कत नगर्न चेतावनी दिए।

पुनले मुलुकमा राजतन्त्र र सैन्य शासन नरहेको र जनता धेरै सचेत रहेकाले कसैको धम्कीसँग नडराउने बताए। राज्य शक्तिको दुरुपयोग गर्नेको हालत ज्ञानेन्द्रको जस्तै हुने भन्दै पुनले धम्की बन्द गर्न चेतावनी दिए।

‘ज्ञानेन्द्र देशैभरि  र्‍याली गर्दै हिँडे। लाखौं जनता महाराज भन्दै जान्थें। बुझें, सुनें भन्दै टाउको हल्लाएर हिँडेका थिए। आज कहाँ टाउको हल्लाउँदै हिँडेका छन् थाहा छ कि छैन?’, पुनले प्रश्न गरे, ‘जसले राज्यशक्तिको दुरुपयोग गर्छ त्यसको हालत ज्ञानेन्द्र शाहको जस्तै हुन्छ।’

निरंशुक सत्ता चलाउन खोज्दा २ सय ४० वर्षसम्म शासन गरेको शाह राजसंस्था, पुलिस मेरै हो, राज्य मेरै हो भन्दै हिँडेका ज्ञानेन्द्रको हविगत स्मरण गर्न पुनले ओलीलाई सुझाब दिए।

ओलीले एकपछि अर्को असंवैधानिक कदम, निरंशुकता र स्वेच्छाचारिताविरुद्ध तथा संविधानको रक्षा र लोकतन्त्र बहालीका लागि आफूहरुले आन्दोलन गरेको बताए। तर, सत्ताका लागि आन्दोलन भन्ने आरोप लगाइएकामा आपत्ति जनाए। ‘म ओली सरकारमा मन्त्री थिएँ तर लोकतन्त्र बचाउन राजीनामा दिएर सडकमा आएको हुँ। सत्ताको लडाईं होइन, लोकतन्त्रका लागि हो’, उनले भने।

नेता पुनले आवश्यक परे आफूहरु युवा, मजदुर, किसानको हित तथा लोकतन्त्र र संविधानको रक्षाका लागि जेल जानसमेत तयार रहेको बताए। तर, आफूहरु दमन सहन र आत्मसमर्पण गर्न तयार नरहेको बताए।

‘हामीले आत्मसमर्पण या झुक्न र भाग्न जानेका छैनौं। हिजो ज्ञानेन्द्र वा अन्य निरंकुश शासकसँग पनि भागेको होइन’, पुनले भने, ‘केपी र थापा त अस्ति भर्खरै देखेका, के सोच्छन्, कसरी चल्छन् सबै थाहा छ। ३० वर्ष, ४० वर्षदेखि देखिराखेका मान्छेहरुले आज वरिपरि सेना, प्रहरी राखे, स्कर्टिङमा हिँडेर एकछिन महाराज भएजस्तो कल्पना नगरे हुन्छ।’

आन्दोलन र आमहड्ताल रहर नभएको भन्दै देशको नेतृत्वको गरिराखेको प्रधानमन्त्रीबाटै संविधान र लोकतन्त्रमाथि प्रहार भएकाले बाध्य हुनुपरेको उनको भनाइ थियो। उनले प्रधानमन्त्री ओलीले निर्वाचनका कुरा गरे पनि असंवैधानिक रुपमा नियुक्त सदस्यहरु सहभागी भएर गरिने निर्वाचन कसरी निष्पक्ष हुनसक्छ भन्ने प्रश्न गरे।

सरकारमा बसेर प्रदर्शन र प्रतिरोध गर्न छाडेर अस्पताल बनाउन, चिकित्सकहरुको नियुक्ति गर्न, कोरोनाको औषधि निःशुल्क वितरण गर्न पुनले सुझाव दिए।

सरकारले काम गर्ने हो। सडकमा प्रदर्शन गर्र्दै हिँड्ने होइन। राम्रो काम गरेर देखाउनु, जनता जुलुस लिएर अभिनन्दन गर्न आउँछ’, पुनले भने, ‘बलात्कारीर्लाइ कारबाही गर्नु, हामी छोरी भएका अभिभावकहरु ओली र थापालाई निवासमै जुलुससहित अभिनन्दन गर्न आउँछौं, जनताले रथ यात्रा गराउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad