प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षले गरेको नेकपाको आमहडतालप्रति तीखो व्यंग्य गरेका छन्।
आफैँले आह्वान गरेको बन्दमा गाडी र स्कुटर चढेको प्रति व्यंग्य गर्दै ओलीले बन्दमा जनताले कति दुःख पाए भनेर बाइक र गाडी चढेर हिँडेको आरोप लगाए।
प्रचण्ड र नेपालले देश अगाडि बढ्ला कि भन्ने चिन्ता गरेकैले आमहडतालको तहमा उत्रिएको दाबी गरे।
उनले भने, ‘बन्दको नाममा गरिबको तरकारी फ्याँकिदिएर जनतालाई दुःख दिनुभयो।’
अखिल नेपाल किसान संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाल पक्षको कार्यकर्ता सकिएको आजको आमहडतालमै देखिएको बताए।
उनले भने, ‘कार्यकर्ता सकिएछन्, हामी यहाँ छौँ भनेर एउटा टाँस्यो, को उभिएका छन् भनेर हेरेको त सातदोबाटोमा प्रचण्ड उभिएका रहेछन्।’
बन्दको नाममा जनतालाई दुःख दिएर आफूचाहिँ त्यसको रमिता हेर्न गाडी र स्कुटर चढेको भन्दै प्रचण्ड र माधव कुमार नेपालप्रति ओलीले रोष पोखे।
प्रचण्ड–नेपाल पक्षले अदालत, निर्वाचन आयोग, प्रहरी र सीडीओलाई समेत धम्क्याएको ओलीको आरोप थियो।
प्रचण्ड–नेपालको कार्यकर्ता नै नभएको दाबी गर्दै ओलीले भने, ‘उहाँहरुका कार्यकर्ता भनेका हामी यहाँ छौँ लेख्नेहरु मात्रै हुन्। पार्टी पनि त्यही लेखेका जतिको मात्रै हो।’
याे पनि : प्रचण्डलाई ओलीको चेतावनी : संविधान र कानुन मान्दिन भन्ने दिन गए
किसान संघको भेलामा ओलीले माधव नेपालले किसानका समस्या समाधान गर्न नदिएको आरोप लगाए।
हालै सरकारले भूमि समस्या समाधान आयोग बनाएको भन्दै त्यो बनाउन नदिन नेता नेपालले भाँजो हालेको बताए। उनले नेपालमा कृषि समस्या समाधान गर्नलाग्दा नेपालले बाधा हाले पनि उनी हटेलगत्तै आयोग बनाएको बताए।
उनले भने, ‘माधव नेपालले मेरो मान्छे, मेरा पक्षधर भनेर कामै गर्न दिएनन्।’
प्रचण्ड र नेपाललाई कहिल्यै हातमा हलो, कोदालो नसमाएको, धान कसरी रोपिन्छ, थाहै नभएको ओलीले व्यंग्य गरे।
कार्यक्रममा उनले सबै कार्यकर्तालाई आफ्नो भनेका थिए।

प्रतिक्रिया