शहरी विकास मन्त्री प्रभु साहले जनता आवास कार्यक्रमको अबस्था चिन्ताजनक रहेको बताएका छन्।
बुधबार सहरी विकास मन्त्रालयले आयोजना गरेको जनता आवास कार्यक्रमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले जनता आवास कार्यक्रमको अवस्था चिन्ताजनक रहेको बताएका हुन्।
मन्त्रालयले बुधबार सातवटै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मन्त्रालयका सचिवहरु लगायतका सरोकारवालाहरुसँग जनता आवास कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम राखेको थियो।
कार्यक्रममा बोल्दै उनले जनता आवास कार्यक्रममा प्रदेश सरकारको काम गराइले निराश बनाएको बताए। गरिबको घर भत्काएर बनाउन वर्षौ लगाउने, कति स्थानमा घर भत्काउने तर बनाउने योजना नै नराख्ने पाइएकोले संघ सरकारले जनता आवाश कार्यक्रमको प्रभावकारितामा गम्भीर ढंगले सोच्ने बेला आएको बताए। उक्त कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने भन्दै उनले पहिले निर्माणाधिन घरहरु निर्माण सकेर नयाँ योजनाबाट काम सुरु गर्नुपर्ने बताए।
मन्त्री साहले सरकारले दिएको पैसामा आफ्नो पैसा थप गरेर पनि घर बनाउन सकिने व्यवस्था मिलाइदिन निर्देशन समेत दिए। भत्काइएका घर समेत निर्माण सम्पन्न हुन नसकेको असन्तुष्टि जनाउँदै उनले निर्माणाधिन घर निर्माण सम्पन्न गर्ने पहिलो प्राथमिकता बनाउन पनि सुझाव दिए।
मन्त्री साहले जनता आवास कार्यक्रमको निम्ति पैसाको कुनै कमि नुहने पनि स्पष्ट पारे।

प्रतिक्रिया