नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वजनमुक्ति सेनाका घाइते, अपांग लगायतलाई दिने प्याकेजबारे आफू प्रधानमन्त्री भएपछि गरिएको मन्त्रीपरिषदको पहिलो निर्णय नै लुकाइएको बताएका छन्।
बहिर्गमित जनमुक्ति सेना नेपालको बुधबार राजधानीमा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनको उदघाटन कार्यक्रमलई सम्बोधन गर्दै प्रचण्डले आफू प्रधानमन्त्री भएपछि गरेको पहिलो निर्णय नै लुकाइएको दाबी गरेका हुन्।
उनले आफू पनि पूर्वजनमुक्ति सेनाजस्तै पीडित भएको बताए।
‘मैले यत्रो परिवर्तन ल्याउने जनमुक्ति सेनाको सम्मान गर्ने भनी जनयुद्धका शहिदहरुलाई राष्ट्रिय शहिद घोषणा गर्ने भनी गरिएको पहिलो क्याबिनेट निर्णय लुकाइएको छ,’ उनले भने, ‘त्यो निर्णय प्रतिक्रियावादीहरुले षडयन्त्रपूर्वक दबाइदिएका छन्, अनि मलाई आनन्द हुन्छ त?’
उनले सो निर्णयमा जनमुक्ति सेनाका घाइते, अपांग, बहिगर्मित लडाकुहरुलाई समेटेर प्याकेज दिने विषय समेटेको बताए।
पहिलो क्याबिनेट निर्णय नै कार्यान्वयन गराउन नपाउँदा जनमुक्ति सेनाका घाइते, अपांगलाई उचित व्यवस्थापनमा कमजोरी हुन गएको प्रचण्डको स्वीकारोक्ति थियो।
प्रचण्डले पार्टी फुटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कालीबहादुर खामलाई सम्झेको भन्दै तीव्र कटाक्ष गरे।
‘पार्टी फुटेपछि ओलीले कालीबहादुर खाम कहाँ छन् भनेर खोजी गरेका छन्, शान्ति प्रक्रियामा आएपछि शिविरमै बसेका बेला खामलाई एउटा रामहरि श्रेष्ठको हत्याको आरोप लाग्यो,’ उनले भने।
त्यतिबेला खामलाई बचाउनका लागि र उनको मुद्दामा लड्नका लागि आफूले धेरै प्रयत्न गरेको प्रचण्डको भनाइ छ।
‘त्यसका लागि के कति गरियो, त्यसभित्र धेरै मर्म छ, तिनलाई सिध्याउन केपी ओली र उनको टिमले के के गर्यो भन्ने पनि मलाई थाह छ,’ उनले थपे।
आफू पूर्वजनमुक्ति सेनालाई साथ दिन सँधै तयार रहेको बताए।
‘तपाईंहरुलाई फेरि एकपटक कमाण्ड गर्न चाहन्छु, तपाईंहरुले भोलिदेखि तय भएका आन्दोलनको कार्यक्रममा सहभागिता जनाउनुहोला,’ प्रचण्डले भने।
यो पनि:
- ठूलो संख्यामा पूर्वलडाकु भित्र्याउने ओलीको योजना असफल, खाम अझै बार्गेनिङमा
- पूर्वलडाकु तान्ने ओलीको यस्तो रणनीति, गृहमन्त्री थापाको कमान्डमा खाम र ढुंगेल सक्रिय

प्रतिक्रिया