राजनीति


मादीको केन्द्र सार्ने विषयमा विवाद, गाउँपालिका कार्यालयमा तालाबन्दी

मादीको केन्द्र सार्ने विषयमा विवाद, गाउँपालिका कार्यालयमा तालाबन्दी

नेपालखबर
माघ २१, २०७७ बुधबार ६:४०,

कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस गरिएको निर्णयविरुद्ध असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।

गाउँपालिकाको सिफारिसमा गण्डकी प्रदेश सरकारले सो पालिकाको केन्द्र हालको मादी–३ या‌जाकोटबाट साझा बेतेनीमा सार्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भोलिपल्ट मंगलबार असन्तुष्ट पक्षले गाउँपालिकामा तालाबन्दी गरेको हो।

राजनीतिक सहमति र स्थानीय स्वायत्त शासन ऐनविपरीत पालिकाको केन्द्र सार्ने निर्णय गरिएकाले आन्दोलनमा उत्रिनुपरेको स्थानीय कांग्रेस नेता एवं स्थानीयवासीको तर्फबाट गठन गरिएको संघर्ष समितिका संयोजक नारायण गुरुङले बताए।

गाउँसभाले केन्द्रका लागि चार विकल्प सिफारिस गर्ने सर्वसम्मत निर्णय गरे पनि गाउँपालिकाले एकलौटीरूपमा बेतेनीमा केन्द्र बनाउन सिफारिस गरेको गुरुङको दाबी छ। असन्तुष्ट पक्षको माग पालिकाको केन्द्र याङ्जाकोटमा नै रहनुपर्ने र सिफारिस प्रक्रियाप्रतिसमेत आपत्ति जनाएको छ।

छैटौँ गाउँसभाले पालिकाको केन्द्र वडा नं ४ र ५ अन्तर्गत मादी करिडोर छेउपर्ने बेतेनी वडा नं ३ स्थित यांजाकोट देउराली, वडा नं ४ को तारकाङस्थित माजडी र साविक वडा नं ३ स्थित याङ्जाकोट गरी चार विकल्प तय गरेको थियो। गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले वार्ता र छलफलका माध्यमबाट समाधान गर्न सकिने भए पनि पूर्वजानकारीबिना एक्कासी तालाबन्दी गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

गाउँसभाले केन्द्रका लागि चार विकल्पसहित सर्वसम्मत निर्णय गरेकामा पहिलो विकल्पमा प्रदेश सरकारले निर्णय गरेर संघीय सरकारलाई पठाएको जानकारी प्राप्त भएको उनको भनाइ छ।

उनले भने, ‘गाउँसभाको निर्णयबमोजिम चार विकल्पसहित हामीले प्रदेश सरकारलाई सिफारिस गरेका हौँ, पहिलो विकल्पमा प्रदेशले सिफारिस गरेको हो। केन्द्रबाट निर्णय भएर राजपत्रमा आएपछि उनीहरूले प्रतिक्रिया जनाएको भए राम्रो हुन्थ्यो, एक्कासी ताला लगाउनु स्वाभाविक छैन, यसअघि कुनै पनि जानकारी आएको छैन।’

स्थानीय शासन ऐनअनुसार पालिकाको केन्द्र परिर्वतनका लागि सर्वसमम्त निर्णय गर्नुपर्ने हुन्छ। सर्वसम्मत नभएको खण्डमा दुईतिहाइ बहुमतबाट समेत पारित गरेर प्रदेश र संघ सरकारलाई सिफारिस गर्न सकिने प्रावधान छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad