प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग भइसकेर चुनाव हुन लागिसकेको अवस्थामा हुनुहुँदैन भनेर कराइरहेकाे गुनासाे गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौंमा गरेको खेलकुदसँग प्रधानमन्त्री अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन्।
थाेरै मात्र राजनीतिक कुरा गरेका उनले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता विना छनौट गर्न सुझाव दिए।
प्रधानमन्त्री ओलीले पक्षधरताविना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताए।
विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको दृष्टान्त दिँदै उनले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिमदेखि खेल प्रतियोगितासम्मका खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिए।
उनले गत वर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरी खेल्नुपर्ने बताए।
सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धिको रुपमा लिएको स्पष्ट पारे। अभ्यासलाई जित्ने तहमा उठाउनु जरुरी रहेको भन्दै उनले राम्रो प्रशिक्षक र आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिए।
खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनी चर्चा हुने गरेको प्रसंग उल्लेख गर्दै उनले विजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको बताए।
हारजितको ठूलो महत्व रहेको भन्दै उनले नेपाल कहिल्यै नहारेको देश रहेकाले खेल पनि जितका खेल्न आग्रह गरे।
उनले भने, ‘लडाइँमा नहार्ने देश यत्रा यत्रा डल्लासँग किन हार्ने? खेल भन्या के हो ? एउटा भकुण्डो नै हान्ने त हो नि! किन हार्ने? क्रिकेटमा एउटा बल हान्ने हो त्यसमा किन हार्ने? सितेरियो, कराते, कुम्फु र भारोत्तोलन, किन हार्ने?’
अशान्ति जित र हारका आधारमा हुने भन्दै उनले संसद भंग भइसकेको र चुनाव हुन लागिसकेको अवस्थामा हुनुहुँदैन भनेर कराइरहेको बताए।
उनले जितका लागि अतिआवश्यक, अपरिहार्य र न्यूनतम आवश्यकता परिपूर्ति गर्ने गरी सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाए। पछिल्लो समय आवश्यक सामान किन्नका लागि नभई राम्रो देखिएको सामान किन्नका लागि ‘सपिङ’मा निस्कने चलन देखिएको बताए।
उनले भने, ‘चाहिएको कपडा÷सामान किन्नका लागि होइन, राम्रो देख्यो उठायो। सरकारले सपिङका लागि होइन, चाहिएको सामान किन्नका लागि सहयोग गर्न सक्छ। गच्छेअनुसारको सहयोग गर्छ। आगामी वर्ष पहिलेको बजेटभन्दा बढेर आउँछ।’
नेपालको भूगोलअनुसारको खेल उत्पादन गरी प्रतियोगिताहरुमा त्यस्ता खेललाई सहभागी गराउन परिषद्लाई सुझाव दिए।
खर्चको कमी भयो भनेर सहभागिता नै गुमाउने अवस्था आउन नदिनेतर्फ पनि सचेत हुन उनले सुझाव दिए। उनले खेल जित्ने गरी तयारी गर्नुको साथै अत्यधिक सहभागिता गराउनुपर्नेमा जोड दिए।
उनले कोभिड १९ को संक्रमणको जोखिम न्यून हुँदै आएको भन्दै उनले अब अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि छिटै पुरानै लयमा फर्किने विश्वास व्यक्त गरे।
उनले खेल क्षेत्रमा सरकारको सधै सहयोगी भूमिका रहने विश्वास दिलाए। प्रधानमन्त्री ओलीले राष्ट्रिय अन्तराष्ट्रिय प्रतिष्पर्धामा मात्रै नभई खेललाई स्वास्थ्य र सामान्य जीवनको अंग बनाउनुपर्ने बताए।
खेललाई सबैले प्रतिरोध क्षमता वृद्धि गर्न र सामाजिक संस्कृति र जीवनपद्धतिको रुपमा स्थापित गर्नुपर्ने बताए। आरोग्यता, निरोगी र स्वस्थ्य जीवन जीउनका लागि हरेक उमेरका मानिसहरुले आफ्नो अनुकुलका खेलहरु खेल्नुपर्ने बताए।
प्रधानमन्त्रीले विषयगत केन्द्रीत भएर गरिने खेलले स्वास्थ्यलाई राम्रो बनाउने बताए।
केही कठिनाइ भए पनि खेलकुदले मान्छेको श्रम शक्तिलाई बढाउनुको साथै बहुपक्षीय फाइदा पु्याउने भएकाले सामाजिक व्यवहार र आचरणको रुपमा खेलकुदलाई जीवन पद्धती नै बनाउनुपर्नेमा जोड दिए।
खेलकुदहरु सामान्य र विशिष्टीकृत भएको उल्लेख गर्दे उनले राष्ट्रिय, क्षेत्रिय र अन्तराष्ट्रिय रुपमा नै यसलाई प्रतिष्पर्धात्मक रुपमा अघि बढाउदै लैजानुपर्ने बताए।
कार्यक्रममा परिषद्का सदस्य सचिव रमेश सिलवालले सरकाररले खेलकुदमा लगानी बढाउनुपर्ने र त्यसले परिणाम पनि राम्रो निस्कने बताए। हरेक जनताको बीचमा खेलकुद पु्याउनु आवश्यक रहेको भन्दै उहाँले सरकारले भौतिक पुर्वाधार, तालिम लगायतमा लगानी गर्नु आवश्यक रहेको बताए। उनले उत्पादक क्षेत्रको रुपमा खेलमा राज्यले लगानी गरेमा आफुहरुले त्यसको सही परिणाम दिन तयार रहेको बताए।
प्रश्न उत्तर सत्रमा उनले प्रत्येक प्रदेशमा एउटा रंगशाला बनाउने विषयका सम्बन्धमा गरिएको प्रश्नमा उनले सातै प्रदेशमा एक÷एक वटा रंगशाला बनाउने काममा केही मान्छेहरुले अवरोध सृजना गरेको बताए। रंगशाला बन्यो भने त्यसको जस आफुमा जाने डरले विकास विरोध केही मान्छेहरुले लगातार विरोध गरेकाले केही अवरोध देखिए पनि चुनावपछिको बजेटमा रंगशाला निर्माणको कुरालाई ध्यान दिने स्पष्ट पारे।
मूलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ भन्ने प्रश्नमा उनले ‘दुई बर्ष भइसक्यो अझै भएको छैन ? भन्दै अनविज्ञता देखाए। कर्मचारी बढुवा तथा नया भर्नाका सम्बन्धमा भने उनले आवश्यकताअनुसार नया दरबन्दी सृजना गरी नियुक्ति दिने बताए।
अस्थायी कर्मचारीको सम्बन्धमा यथार्थ रिपोर्ट उपलब्ध गराउन खेलकुद मन्त्रीलाई निर्देशन दिए। त्यसबारे रिपोर्ट आएपछि आफुले निर्णय गर्ने उनले स्पष्ट पारे।

प्रतिक्रिया