राजनीति


प्रतिनिधि सभा पुनर्स्थापना हुने भ्रममा केही मान्छे छातिमा पोस्टर टाँसेर बसेका छन् : अर्थमन्त्री पौडेल

प्रतिनिधि सभा पुनर्स्थापना हुने भ्रममा केही मान्छे छातिमा पोस्टर टाँसेर बसेका छन् : अर्थमन्त्री पौडेल

नेपालखबर
माघ १८, २०७७ आइतबार १४:२३,

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी भित्रैबाट छापामार शैलीमा संविधानको प्रवन्धभन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन्।

मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बद्र्धन सशक्तिकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै र्थमन्त्री पौडेलले छापामार शैलीमा संविधान र कानूनको प्रवन्ध र संसदीय दलको विधानको भन्दा पृथक खालका अभ्यासहरु गर्ने षडयन्त्रमुलक क्रियाकलाप भएकाले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए।

उनले अनुशासित प्रतिनिधि सभा निर्माण गर्नका लागि जनताप्रति, राष्ट्रप्रति जवाफदेही भएर काम गर्ने प्रतिनिधि सभा निर्माण गर्न ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पनि बताए। संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता र समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशील र अनुशासित प्रतिनिधि सभाको आवश्यकता रहेको तर्क गरे।

सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा धेरै महत्वका कामहरु गरिरहँदा ती कामहरुलाई साथ समर्थन दिएर सहयोग गर्नुपर्नेमा पार्टी भित्रैबाट खुट्टा तान्ने र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने, पार्टीमा विग्रहको अवस्था सिर्जना गर्ने प्रकारका प्रयासहरु भएको पनि बताए।

सरकारले गरेका कामबाट विपक्षीहरुले विरोध गर्ने विषय नपाउँदा, जनताले साथ र समर्थन दिइरहेका बेला पार्टी भित्रबाट असहयोग भएको पनि बताए। सरकारलाई जनताको पक्षमा राम्रा काम गर्न नदिने क्रियाकलाप भएकोले पनि प्रतिनिधि सभा विघटन गरी अनुशासित प्रतिनिधि सभा निर्माण गर्न चुनावमा जानुपरेको स्पष्ट पारे।

निर्वाचनका लागि द्विविधा मुक्त भएर अगाडि बढ्न समेत अर्थमन्त्री पौडेलले आग्रह गरेका छन्।

अझैपनि केही मानिसहरु प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ की भन्ने भ्रमले छातिमा पोस्टर टाँसेर सडकमा बसिरहेको बताए। संविधानको अर्थ र मर्मलाई बुझ्ने हो भने प्रतिनिधि सभा पुनर्स्थापना हुने कुनै सम्भावना नभएको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad