राजनीति


चीनले दिने भयो अनुदानमा ३ लाख डोज कोभिड भ्याक्सिन

चीनले दिने भयो अनुदानमा ३ लाख डोज कोभिड भ्याक्सिन

नेपालखबर
माघ १८, २०७७ आइतबार १३:५३,

चीनले नेपाललाई ३ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिने भएको छ।

‘नेपाल सरकारको अनुरोधमा चीनले नेपाललाई ३ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिने निर्णय गरेको छ, जसबाट १ लाख ५० हजार नेपाली लाभान्वित हुनेछन्,’ नेपालस्थित चिनियाँ दूतावासले भनेको छ।

चीनमा विकास र उत्पादन गरिएको भ्याक्सिनलाई विश्वकै सार्वजनिक हितमा प्रयोग गर्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रतिबद्धताअनुसार नै नेपाललाई पनि प्रदान गर्न लागिएको दूतावासले जनाएको छ।

चीनभित्रै र विश्वभर नै अहिले कोभिड भ्याक्सिनको अत्यधिक माग भए पनि चीन सरकारले नेपाल–चीन मित्रतालाई विशेष महत्व दिँदै नेपाललाई प्राथमिकतामा राखेको दूतावासको भनाइ छ।

नेपाललाई प्रदान गर्न लागिएको भ्याक्सिन चीनको सिनोफार्म नामक कम्पनीले उत्पादन गरेको र चीनमा समेत सशर्त स्वीकृति पाएको छ।

सो भ्याक्सिन अहिलेसम्म २ करोड ४० लाख डोज प्रयोग भइसकेको र त्यसको दुई डोज लगाउँदा ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी भएको पाइएको छ।

सुरक्षा र प्रभावकारिताका हिसाबले सो भ्याक्सिन विश्व स्वास्थ्य संगठनले तय गरेका मापदण्डभन्दा राम्रो पाइएको र प्रयोग गरेका बिभिन्न देशहरुबाट त्यसप्रति निकै राम्रो प्रतिक्रिया प्राप्त भएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार सो भ्याक्सिनको प्रयोगको बजारीकरण वा आपतकालीन प्रयोगका लागि पाकिस्तान, युनाइटेड अरब इमिरेट्स (यूएई), इजिप्ट, हंगेरीलगायत १३ देशमा स्वीकृति प्राप्त भएको छ।

यसअघि भारतले १० लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिएपछि अहिले ७७ जिल्लामै स्वास्थ्यकर्मी लगायतलाई भ्याक्सिन लगाउन सुरु गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad