राजनीति


धर्मका कुरा गरेर जनता अल्मल्याउने ओलीको कुचेष्टा : सुरेन्द्र पाण्डे

धर्मका कुरा गरेर जनता अल्मल्याउने ओलीको कुचेष्टा : सुरेन्द्र पाण्डे

नेपालखबर
माघ १८, २०७७ आइतबार ९:५८,

प्रचण्ड नेपाल नेतृत्वको नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन छाडिसकेको बताएका छन्। उनले अहिले ओलीले धर्मका कुरा गरेर जनतलाई अल्मल्याउने कुचेष्टा गरिरहेको आरोप लगाए।

उनले प्रधानमन्त्री ओलीको चितवनमा राम मन्दिर बनाउने कुरा, पशुपतिको धार्मिक यात्रा सबै जनतालाई अल्मलाउनका लागि गरिएको बताए। उनले ओलीको सपना कुनै पनि हालतमा पूरा नहुने बताए।

‘ओली नेपालमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन होइन, मठाधीश बनेर धर्मका कुरा गरेर फेरि पनि नेपाली जनतालाई अलमल्याउन सक्छु कि भन्ने कुचेष्टा गरिरहेका छन्’, नेता पाण्डेले भने, ‘खबरदार ओलीहरु, तिम्रा यी षडयन्त्रहरु सफल हुने छैनन्।’

यस्तो छ पाण्डेले माइतीघरमा गरेको सम्बोधन

आधुनिक महाभारत पनि भन्न चाहिरहेको छु। महाभारतको युद्धमा हस्तिनापुरका एउटै परिवारका मानिसहरुबीच युद्ध भएको थियो।
आज हामी त्यस्तै महाभारतको युद्धमा सामेल भएका छौं। न्याय र अन्यायका बीचामा रहेकाहरु सरकारी सम्पती दुरुपयोग गरेर अहिले देश दौडाहमा छन्।

हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीली चितवनमा पुगेर राममन्दिर बनाउने घोषणा गरेर आए, उनी अब कम्युनिष्ट रहेनन्। मन्दिर र देउताको भाकल गर्न अग्रसर छन्। उनी अरुलाई त्यसकै लागि ललकारी रहेका छन्। यहाँहरुलाई थाहा छ– पशुपतिमा गएर सवा लाख बत्ती बालेर ‘आजसम्म मैले पशुपति आउन जानेनछु, केही गर्न सकेनछु, अब यी सबैको चुक्ता गर्छु भनेर पुजापाठतिर लागेका छन्।

अब ओली नेपालमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन होइन मठाधीश बनेर धर्मका कुरा गरेर फेरि पनि नेपाली जनतालाई अलमल्याउन सक्छु कि भन्ने कुचेष्टा गरिरहेका छन्। खबरदार ओलीहरु, तिम्रा यी षडयन्त्रहरु सफल हुने छैनन्।

उनी अदालतमा बहस गर्न जाने वकिललाई, पूर्व प्रधानन्यायाधीशलाई झम्टिन पुग्छन्। जो–जो व्यक्ति सत्य र न्यायको पक्षमा उभिन्छन्–आोलीहरु तिनीहरुविरुद्ध लाग्दैछन्, झम्टँदैछन्।

महाभारत युद्धमा अर्जुन जबसम्म युद्धका पक्षमा तयार भएनन्। कृष्णले सम्झाउँदै भनेका थिए– उता हेर्दा हजुरबा, यता हेर्दा काका देखिन्छ।
तिमीले काका नठान, बाबु नठान, दाइ र गुरु नठान। तिमी सत्य या न्यायको पक्षमा उभिन्छौं भन्ने सुनाउँदा सुनाउँदै १८ अध्याय लेखियो। त्यसपछि अर्जुन लड्नको लागि तयार भए, महाभारत युद्ध त्यहाँबाट आरम्भ भयो। आज नेपालमा न्यायका पक्षमा अर्जुनजस्तै उभिनुपर्ने स्थिति आएको छ।

हामीलाई लाग्दछ, महाभारतमा जस्तो १८ अध्याय लेखिनुपर्ने छैन। त्योभन्दा अगाडि नै अर्जुनहरुले कुरा बुझन्छन् र यो आन्दोलनका लागि जुट्नेछन्। प्रतिगामी ओलीको पराजय हुनेछ। यो प्रतिगमनको आयु धेरै छैन, अर्जुनहरु धेरै जागिसके।

 ओलीले के गरे? समाजवादतर्फको यात्रामा घात गरे। ओलीको कदमले दक्षिणपन्थी खुसी भएका छन्, फुर–फुर गरिरहेका छन्। दीर्घराज प्रसाईंहरु के भन्न थालेका छन् भने ओलीजस्तो राजनेता नेपालमा कोही छैन। हिजो पञ्चायतको बेला कम्युनिस्टमाथि गोली दाग्ने भद्राकुमारी घलेजस्ता मान्छे पनि ओलीजस्तो कोही नभएको भन्दैछन्।

कम्युनिस्ट नेता ऋषि देवकोटा ‘आजाद’को हत्या गर्ने काममा नेतृत्व गर्नेहरु आज ओलीलाई महान् मान्छे भन्दैछन्। अहिले ओलीलाई सारा प्रतिक्रियावादीहरुले जम्जमाएर समर्थन गरिरहेका छन्। मैले सुनिरहेको छु– आउने २३ गतेको ओलीको सभामा सबै राजावादीहरुले उर्दी लगाएर सहभागी हुने घोषणा गरेका छन्। ओलीजी राजावादीको भीडमा बसेर तपाईँले जतिसकुै उल्टो बाटो हिँड्ने चेष्टा गरे पनि नेपाली जनताले समाजवादको यात्रालाई छोड्ने छैनन्। तपाईंको प्रतिगामी कदमलाई परास्त गर्न लाग्नेछन्।

ओली संविधानले गरेको व्यवस्था ध्वस्त पार्न खोज्दैछन्। हिन्दू राज्य बनाउने कोसिसमा छन्। त्यसको घोषणा गर्ने तयारी हुँदैछ। यही २३ गते हिन्दू राज्य घोषणा गर्दैछन् भन्ने पनि चर्चा सुनिएको छ। ओली त्यो बाटोमा लाग्न सक्छन्। मति भ्रष्ट भएपछि कुनै पनि बाटो लिन तयार हुन्छन्। संविधान मार्ने चेष्टा गर्दैछन्।्

ओलीको कदमले सार्वभौम सत्तामाथि संकट र जोखिम पैदा भएको छ। देशमा जब अस्थिरता पैदा हुन्छ देशको सार्वभौमसत्तामाथि नयाँ चुनौति आउँछन्। चुनावमा देश गयो भने हाम्रो सबै बजेट चुनावकै लागि खर्च गर्नुपर्ने हुन्छ र देश कंगाल बन्छ, टाट पल्टिने दिशातिर जान्छ। ओलीको यो कदम रोकेर देशलाई नयाँ ढंगले अगाडि बढनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad