राजनीति


ओलीको मुर्ख्याइँले देश नै चक्रव्यूहमा पर्‍यो, चुनावतर्फ होइन संविधान र व्यवस्था बचाउन लागौं: सिटौला

ओलीको मुर्ख्याइँले देश नै चक्रव्यूहमा पर्‍यो, चुनावतर्फ होइन संविधान र व्यवस्था बचाउन लागौं: सिटौला

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ११:४२,

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले निर्वाचनमा गएर चुनाव जित्ने मौका हेर्नुभन्दा संविधान बचाउनु पर्ने बेला आएको बताएका छन्।

यो संविधानलाई मर्न नदिन कांग्रेस जनताकोबीचमा जानुपर्नेमा सिटौलाले जोड दिएका छन्।

उनले लामो संघर्ष र राजनीतिक परिवर्तनबाट आएको संघीयता, गणतन्त्र, समावेशी लगायतका व्यवस्था जोगाउन कांग्रेस तलैसम्म पुग्नुपर्ने बताएका छन्।

‘कम्युनिष्ट फुटेर चुनावमा जाँदा हामी खुशी हुनुपर्ने, अझ म त चुनाव हारेर बसेको मान्छे झन खुशी हुनुपर्ने हो, केहि साथीले कम्युनिष्ट फुटिहाल्यो अब हामी चुनाव जितिहाल्छौं भनेको देखिन्छ,’ काठमाडौं क्षेत्र नम्बर ६ को विरोध कार्यक्रममा बोल्दै नेता सिटौलाले भने, ‘तर, त्यस्तो सोच्ने साथीहरुको त्यो सोँच गहिराईमा नपुगेको सतही विचार हो।’

नेपाली कांग्रेसमा चुनावमा केन्द्रित हुने वा प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा होमिने भन्ने विषयमा नेताहरुबीच अझै पनि मतैक्यता हुन नसकिरहेका बेला पार्टीका पूर्वमहामन्त्री सिटौलाले संविधानका पक्षमा उभिन आग्रह गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने कदमले जुन गम्भीर परिणाम ल्याउँदैछ त्यसको गहिराइमा पुगेर कतिपय कांग्रेसका नेताहरुले विचार नबनाएको सिटौलाको भनाइ छ।

‘अहिले चुनाव जित्ने हार्ने भन्ने कुरा होइन, हामीले ल्याएको संविधानबाट संघीय लोकतान्त्रिक शासनव्यवस्था, बहुलवादमा आधारित प्रणालीलाई बचाउने कुरा महत्वपूर्ण हो,’ संविधान मस्यौदा समितिका तत्कालीन सभापति समेत रहेका सिटौलाले भने।

केपी ओली सरकारले तीन वर्षसम्म जनताको पक्षमा काम गर्नुको साटो निरंकुशता लाद्न उद्यत रहेको र त्यही आधारमा प्रतिनिधि सभा विघटन गरेको उनले बताए।

अहिलेको समस्यालाई ठीक ढंगले सामना नगरे नेपाल अत्यन्त गम्भीर संकटमा फस्ने उनको ठम्याइ छ।

‘सबै व्यवस्था कमजोर हुनेछ र अन्त्यमा संविधान नै विघटन हुने खतरा हुन्छ,’ उनले भने, ‘प्रतिनिधि सभा मात्र होइन संविधानमा व्यवस्था गरिएका सबै कुरा विघटन हुनेछन्।’

त्यसैले प्रधानमन्त्री ओलीको कदम अदालतले बदर गर्नुपर्ने उनको भनाइ छ।

उनले अहिले यो विषयमा अदालतलाई आफ्नो क्षमता प्रकट गरेर संविधानको रक्षा गर्नसक्छ भनेर जनतालाई सन्देश दिने सुनौलो अवसर पाएको पनि बताए। ‘आम जनताको भरोसा र आशा जुटाउने अवसर पाएको छ, अदालतले यो अवसरको सदुपयोग गरोस्,’ उनले भने।

आफूहरुले केपी ओलीले जस्तो अदालतलाई प्रभावित पार्न नचाहेको र अदालतले जनताको पक्षमा फैसला गर्छ भन्नेमा आफूहरु विश्वस्त रहेको उनले भनाइ छ।

‘ओलीले प्रतिनिधि सभा मात्र विघटन गरेका छैनन् उनको कदमले देश गम्भीर षड्यन्त्रको चक्रव्यूहमा फस्दैछ, अदालतले यदि ओलीको पक्षमा निर्णय गर्यो भने यसपछिका संवैधानिक निकायहरुको अवस्था के होला? निर्वाचन आयोग, अख्तियार के होला?’ उनले भने, ‘नेपाललाई कमजोर बनाउने, जनताको सबै अधिकार खोस्ने गम्भीर षडयन्त्र हो यो, ओलीको मुर्ख्याइँले व्यवस्थाको अन्त्य हुनेतिर नजाओस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad