ad ad

राजनीति


प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले घोषणा गर्‍यो आन्दोलन, ३० गते देशभर प्रदर्शन

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले घोषणा गर्‍यो आन्दोलन, ३० गते देशभर प्रदर्शन

नेपालखबर
माघ १३, २०७७ मंगलबार ११:१४,

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध तीन दिने प्रदर्शन गर्ने भएको छ।

कांग्रेसले माघ १९ मा भ्रातृ संगठन, २४ मा शुभेच्छुक संघसंस्था र माघ ३० गते पार्टीले देशभर प्रदर्शन गर्न लागेको हो।

मंगलबारको केन्द्रीय कार्य समितिको बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको छलफलमा सो सहमति भएको हो।

देउवा र पौडेलबीच आन्दोलनको कार्यक्रममा सहमति भएपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त सहमतिलाई अनुमोदन गरेको हो।

कांग्रेसले माघ १९ गते पार्टी निकट भातृ संस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र विरोध सभा गर्ने, माघ २४ गते पार्टीका शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन तथा सभा गर्ने र माघ ३० गते नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा जिल्ला सदरमुकाममा विरोध सभा तथा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

सभापति देउवाले प्रधानमन्त्री ओलीले गरेको विघटनप्रति नरम नीति अख्तियार गरेको भन्दै उनकाे आलोचना हुँदै आएको छ।

यसअघि कांग्रेसले प्रतिनिधिसभा विघटनालाई असंवैधानिक भनेर निर्णय गरिसकेको छ। तर, देउवा र पौडेलबीच आगामी मुद्दा के हुने भन्ने विषयमा फरक धारणा रहेको छ।

पौडेल प्रतिनिधिसभा पुनर्स्थापनाको विषयलाई लिएर कांग्रेसले सडक आन्दोलन गर्नुपर्ने बताउँदै आएका छन् भने देउवा विघटनको विषयमा अदालतमा विचाराधीन रहेको भन्दै आन्दोलन गर्न नहुने पक्षमा रहेका थिए।

पार्टी केन्द्रले घोषणा गरेको कार्यक्रमको अलावा जिल्ला समिति र भातृ संगठनहरुले आवश्यकता अनुसार कार्यक्रम गर्नसक्ने निर्णय गरेको पनि प्रवक्ता शर्माले जानकारी दिए।

नयाँ संघीय संरचना अनुरुप पार्टीको स्थानीय सांगठनिक संरचनालाई समायोजन गर्न जिम्मेवारी पाएअनुसार ७४ वटा जिल्लामा समायोजन कार्य पूरा गरेकोमा बैठकले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्नुका साथै बाँकी रहेको समायोजनको काम सम्पन्न गर्न पनि पुनः निर्वाचन समितिलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी बैठकले नेपाली कांग्रसका भातृ संगठनहरु नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी/जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनासम्मको लागि थप गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए।

त्यसैगरी नेपाली कांग्रेसको कतार, मलेसिया, बहराइन, मलेसिया र साउदी अरेबियाको जनसम्पर्क समितिको क्रियाशील सदस्यलाई स्वीकृत गरिएको छ।

बैठकले माल्टामा रहेका नेपालीहरुले गठन गरेको जनसम्पर्क समितिलाई आबद्धता प्रदान गर्ने, यूएईको विधानलाई स्वीकृत गर्ने र इजरायल जनसम्पर्क समितिको म्याद सकिएको मितिले बढीमा ६ महिनाभित्रमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यकाल थप गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .