नागरिक आन्दोलनमा सरकारले गरेको दमनको नेकपा प्रचण्ड–नेपाल पक्षले घोर भर्त्सना गरेको छ।
प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक अगुवालाई धरपकड गरिएको विरोधमा त्यही दिन विज्ञप्ति जारी गरी नेकपाले घटनाको निन्दा गरेको हो।
याे पनि : नागरिक आन्दोलन: कैयौं अभियन्ता घाइते, १२ जनाको विभिन्न अस्पतालमा उपचार जारी
आन्दोलनका लागि गठित केन्द्रीय संघर्ष समितिका संयोजकसमेत रहेका नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण कार्यक्रममा सरकारले निर्मम लाठी चार्ज गरी क्रुर दमन गरेकोमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोर भर्त्सना गर्दछ।’
अगाडि लेखिएको छ, ‘लोकतन्त्रको स्थापना र संविधान निर्माणमा नेपाली नागरिक समाजको ऐतिहासिक भूमिका अविस्मरणीय रहेको छ। नागरिक समाजका तिनै अगुवाहरूले आज (सोमबार) संविधान र लोकतन्त्रको रक्षाको निम्ति संघर्षमा उत्रँदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक एवं निरंकुश चरित्र उदांगो भएको छ।’
यसबाट आन्दोलनको आवश्यकता र औचित्य झन् बढेर गएको स्पष्ट भएको नेकपा प्रचण्ड–नेपाल पक्षले उल्लेख गरेको छ।

याे पनि : नागरिक आन्दोलनमा दमन ‘ओलीतन्त्र’को अन्त्यअघिको छटपटी : गगन थापा

प्रतिक्रिया