राजनीति


पार्टी विवादसम्बन्धी कुनै पनि निर्णय गर्न नसक्नु निर्वाचन आयोगकाे कमजाेरी : घनश्याम भुसाल

पार्टी विवादसम्बन्धी कुनै पनि निर्णय गर्न नसक्नु निर्वाचन आयोगकाे कमजाेरी : घनश्याम भुसाल

प्रकाश न्यौपाने
माघ १२, २०७७ सोमबार ७:१३,

नेकपा दाहाल–नेपाल समूहका नेता घनश्याम भुसालले निर्वाचन आयोगले पार्टी विवादसम्बन्धी कुनै पनि निर्णय गर्न नसक्नु उसको कमजोरी भएको बताएका छन्।

सोमबार रुपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका भुसालले आयोगले निर्णय गर्न नसक्नुको औचित्य पुष्टि गर्नुपर्ने बताएका हुन्।

उनले बहुमत केन्द्रीय सदस्य भएको प्रचण्ड–नेपाल समूहको नेकपा नै आधिकारिक भएको दाबी गरे।

आयोगले नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय रहेको पुष्टि गर्नुले नै आफूहरु आधिकारिक भएको प्रष्ट भएको उनकाे भनाइ छ।

यसैबीच, नेता भुसालले पार्टीमा एकतिहाइ भोट नभएको प्रधानमन्त्रीले निर्वाचनमा दुई तिहाइ भोट ल्याउँछु भन्नु ठूलो प्रहसनबाहेक केही नभएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध टिप्पणी गर्दै कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रै एक तिहाइभन्दा तल छन्, यस्तो अवस्थामा दुई तिहाइ ल्याउँछु भन्नु आफैँमा नौटंकी नै हो।’

अहिले मुलुकमा चलिरहेको नाटकमञ्चनबाटै चुनाव हुँदैन भन्ने निश्चित भएको दाबी उनले गरे।

उनले संविधान च्यातेर, लोकतन्त्र घाइते र असफल पारेर निर्वाचन हुनै नसक्ने जिकिर गरे।

नेता भुसालले भने, ‘जहाँ संविधानमाथि नै प्रहार हुन्छ, च्यातिन्छ भने निर्वाचन कसरी हुन्छ? ओलीले यो निर्वाचन गर्नका लागि नै घोषणा गर्नुभएको होइन।’

अहिले सर्वोच्च अदालतमा भइरहेको बहस, संविधान निर्माण गर्दाका तथ्यप्रमाणले पनि संसद जीवितै छ भन्ने पुष्टि भएको बताउँदै उनले ढिलोमा तीन महिनाभित्रै संसद बैठक बस्ने दाबी गरे।

उनले संविधानको मर्म र भावनामाथि प्रहार गरेर लोकतन्त्र बलियो नहुने जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .