राजनीति


प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि हटायो

प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि हटायो

नेपालखबर
माघ ११, २०७७ आइतबार १२:५५,

प्रचण्ड–नेपाल नेतृत्को नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समितिको बैठकले ओलीलाई साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए।

‘यसअघि पार्टीको केन्द्रीय समितिको बैठकले अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिनुभएका केपी ओलीलाई केन्द्रीय कमिटिको बैठकले दिएको अधिकार प्रयोग गर्दै पार्टीको साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको छ’, प्रवक्ता श्रेष्ठले भने।

उनले अध्यक्ष पदबाट हटाएपछि पनि संविधान, लोकतन्त्र, राष्ट्र, जनता र पार्टीको विचार, नीति, पद्दति र हितकाविरुद्ध लगातार गतिविधि गरेका कारण ओलीलाई साधारण सदस्यता किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको र तोकिएको समयमा जवाफ नदिएपछि हटाएको बताए।

माघ २ गते बसेको नेकपाको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम माघ ५ गते स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, नेता मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकालले प्रधानमन्त्री निवास बालुवाटारमा लगेर स्पष्टीकरण पत्र बुझाएका थिए।

प्रतिनिधि सभा विघटन लगत्तै बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाएको र उक्त ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो।

बैठकले आन्दोलन र शुक्रबारको विरोध प्रदर्शन कार्यक्रम भव्य र प्रभावकारी रुपमा रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले बताए।

त्यस्तै बैठकले पार्टीको केन्द्रीय कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थप्ने र उपसचिवमा मोहन गौतमलाई राख्ने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad