राजनीति


चिनियाँ जनमुक्ति सेनाले ताइवान लक्षित यद्ध अभ्यास तीव्र बनायो

चिनियाँ जनमुक्ति सेनाले ताइवान लक्षित यद्ध अभ्यास तीव्र बनायो

नेपालखबर
माघ ११, २०७७ आइतबार १२:१७,

राष्ट्रपति सी चिनफिङले चीनदेखि ताइवान अलग्याउन खोज्नेहरुबाट खतरा बढेकाले हालै मात्र आफ्ना सेनालाई हरेक पल युद्धको लागि तयार हुन निर्देशन दिएका थिए।

सीको निर्देशनपछि चिनियाँ जनमुक्ति सेनाले तीव्र रुपमा युद्ध अभ्यास तथा युद्धकौशल प्रदर्शन गरिरहेका छन्।

शनिबार मात्र चीनका आठ बम्बर विमान र ४ वटा युद्धक विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको थियो।

यस घटनासँगै ताइवानले आफूले चीनको कुनैपनि उत्तेजक गतिविधिको जवाफ दिन क्षेप्यास्त्र प्रणालीलाई सक्रिय बनाएको प्रतिक्रिया दिएको थियो।

चीनले आठ एच–६के बम्बर विमान र चार जे–१६ युद्धक विमान आफ्नो हवाई क्षेत्रमा पठाउनुलाई ताइवानले असामान्य घटना भनेको थियो।

पीएलए डेलीका अनुसार चिनियाँ जनमुक्ति सेनाले तीव्र रुपमा ताइवान लक्षित युद्धअभ्यास र युद्धकौशल प्रदर्शन गरिरहेका छन्।

जमीन, आकाश र समुद्रमा चिनियाँ सेनाले सैन्य अभ्यास तीव्र बनाएको बताइएको छ। चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चेतावनीबीच चिनियाँ सैन्य गतिविधि बढेको हो।

  चिनियाँ राष्ट्रपति सी चिनफिङ र ताइवानकी राष्ट्रपति साइ इंग–वेन

चिनियाँ जनमुक्ति सेनाका वरिष्ठ कर्णेल यु गाङका अनुसार चीनले ताइवानविरुद्ध सैन्य अभ्यास संचालन गरिरहेको छ। उनका अनुसार चीन ‘पहिलो प्रहारमै मृत्यु’ निम्त्याउने शक्ति बनाइरहेको छ।

पछिल्लो समय चीनले आफ्नो क्षेत्र भएको दाबी गर्ने ताइवानसँग उसको विवाद दिनदिनै बढ्दै गएको छ।

चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चेतावनी दिइरहँदा ताइवानले आफू स्वतन्त्र मुलुक भएको बताउँदै आएको छ।

ताइवानले चिनियाँ खतरासँग जुध्ने भन्दै अमेरिकाबाट हतियारहरु खरिद गर्न थालेको छ। यस्तो अवस्थामा अमेरिकी सैन्य जहाजहरु चीन र ताइवानको समुद्री सीमासम्मै पुग्ने गरेका छन्।

ताइवान र अमेरिकाबीचको बढ्नो सम्बन्धले चीन सन्तुष्ट छैन भने यस क्षेत्रमा अमेरिकी गतिविधि बढेपछि चीनले अमेरिकालाई पनि आवश्यक कारवाही गर्ने चेतावनी दिइरहेको छ।

यसबीचमा चिनियाँ युद्धक विमानहरु दोहोरिँदै ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेको छ भने चीनले युद्ध अभ्यासलाई तीव्रता दिन थालेको छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .