पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान मासेर गरिने चुनावले दुर्घटना निम्त्याउने बताएका छन्।
आइतबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले संविधानरुपी लोकमार्गमा पहिरो ल्याएको र पहिरो नपन्छ्याइ चुनावको गाडी कुदाउन खोजिएको भन्दै त्यसले दुर्घटना निम्त्याउने बताएका हुन्।
उनले ०१४ सालमा संविधान सभाको निर्वाचन सट्टा ततकालीन राजा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जॉदा बीपी कोइरालाले धोका खाएको भन्दै २०१६ पछिका तुलसी गिरी र केशरजंग रायमाझी नबन्न समेत सचेत बनाएका छन्।
‘ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ।पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ। २०१४ सालमा संविधान सभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जॉदा बीपीले खाएको धोका नबिर्सौं! २०१७ पछिका तुलसी गिरी, केशरजंग नबनौं!’, डा. भट्टराईले ट्विटरमा लेखेका छन्।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेपछि जनता समाजवादी पार्टी सडक संघर्षमा उत्रिएको छ। डा. भट्टराईले प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक पार्टीहरुले संयुक्त संघर्ष गर्न प्रस्ताव गर्दै आएका छन्।
Shares

प्रतिक्रिया