आन्दोलनरत् नेकपाका अध्यक्ष माधवकुमार नेपालले २०४८ सालको निर्वाचनमा तत्कालीन नेकपा–एमालेले सूर्य चिन्ह प्राप्त गर्ने जिम्मेवारी आफूलाई दिएको र त्यसअनुसार आफूले त्यसको नेतृत्व गरेको बताएका छन्।
‘त्यतिबेला निर्वाचन आयोगसँग प्रक्रिया पुर्याएर सूर्य चिन्ह प्राप्त गर्ने पार्टी जिम्मेवारीको नेतृत्व गर्ने व्यक्ति म यहाँ अहिले जिउँदै छु,’ नेपालले शुक्रबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै भने, ‘त्यसप्रति केपी ओलीलाई कुनै माया छैन, हामीलाई छ।’
त्यसैगरी उनले देशमा गणतन्त्र र समावेशी व्यवस्था ल्याउने अभियानको नेतृत्व पनि आफूहरुले गरेको र त्यसप्रति रुचि नभएका ओलीलाई गणतन्त्र, संघीयता र समावेशी व्यवस्थाप्रति कुनै मोह नभएको पनि दाबी गरे।
नेता नेपालले अब पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म देशभर आन्दोलनरत् नेकपाको पक्षमा जनसमर्थन उर्लेको दाबी गरे।
‘जनता देशभर हामीसँग गोलबन्द भइसके, ओलीसँग अब अरिंगालको गोलो र साइबर सेनामात्र बाँकी छन्,’ उनले भने।

प्रतिक्रिया