नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी अमेरिकाका नयाँ राष्ट्रपति बाइडनका प्रमुख प्राथमिकताबारे जानकारी गराउनुका साथै त्यसबारे छलफल गरेका छन्।
राजदूत बेरीले जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड–१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न बाइडन प्रशासन इच्छुक रहेकाे जानकारी दिएका छन्।
‘अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौँ। हामी हाम्रा गठबन्धनहरूमा सुधार गर्नेछौँ र विश्वसँग फेरि संलग्न हुनेछौँ। हिजोका हैन, आज र भोलिका चुनौतीहरूको सामना गर्न हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौँ,’ राष्ट्रपति बाइडनको भनाइ उद्धृत गर्दै बेरीले भनेका छन्, ‘हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौँ।’
अमेरिकी दूतावासका अनुसार राजदूत बेरीले अमेरिकाको नयाँ प्रशासनले विश्वव्यापी संलग्नताको मुख्य उपकरणको रूपमा कूटनीतिलाई प्रयोग गर्ने कुरा प्रधानमन्त्री ओलीलाई बताएका थिए।

राष्ट्रपति बाइडनले कोभिड–१९ जस्ता साझा चुनौतीहरू समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगमा विश्वास गर्ने समेत उनले जानकारी गराएका थिए।
त्यसका लागि राष्ट्रपति बाइडनले विश्व स्वास्थ्य सङ्गठनमा अमेरिकाको सदस्यता पुनः सुचारु गरेकाेबारे पनि उनले जानकारी गराएका थिए।
उनले अन्तर्राष्ट्रिय संस्थाहरूसँग अमेरिकाको सम्बन्ध पुनःस्थापना र नेपाललगायत विश्वभरका प्रजातन्त्रहरूसँगको साझेदारी पुनर्जीवित गरिने बताए।
राष्ट्रपति बाइडनले आफ्नो पहिलो कामका रूपमा पेरिस जलवायु सम्झौतामा पुनः सहभागी भएको बताउँदै उनले अमेरिकालगायतका देशहरूको जलवायु लक्ष्य बढाउने कूटनीतिक कदमको नेतृत्व गर्ने बताएका छन्।
राजदूत बेरीले प्रधानमन्त्री ओलीसँगको भेटमा नेपाल जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेको बताएका थिए।
उनले नेपालले आयाेजना गर्न लागेकाे सगरमाथा संवादलाई सफल बनाउन मद्दत गर्ने र जलवायु परिवर्तनका प्रभावहरूलाई कसरी मिलेर सम्बोधन गर्ने भनी छलफल गर्ने दूतावासको चाहना पनि व्यक्त गरेका छन्।
बाइडन प्रशासनले स्वदेशमा र विश्वभर महिला तथा बालिकाहरूको अधिकार रक्षामा केन्द्रित हुने उनको भनाइ थियो।
ओलीसँगकाे भेटमा बेरीले यी विषयहरूमा नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएका थिए।
प्रधानमन्त्री ओलीसँगको सो भेट नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग नयाँ राष्ट्रपतीय प्रशासनको विश्वव्यापी प्राथमिकताबारे छलफल गर्न राजदूत बेरीले गर्ने उच्चस्तरीय बैठकहरूमध्ये एक भएको दूतावासले जनाएको छ।

प्रतिक्रिया