स्थानीय समय अनुसार बुधबार मध्यान्न १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जम्मा ३५ शब्दको शपथ खाने छन्।
यसपटक कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति शपथ ग्रहण समारोह अघिल्ला वर्षजस्तो भव्य हुने छैन।
यसपालिको समारोहमा सुरक्षाको मापदण्ड अपनाएर हजारदेखि १२ सय जनासम्म मानिस सहभागी हुने बताइएको छ।
बाइडेनले शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन्।
ट्रम्पका समर्थकले हिंसा भड्काउनसक्ने एफबीआइको चेतावनीपछि त्यहाँ सुरक्षा व्यवस्था कडा बनाइएको हो।
अमेरिकाको सत्तामा बाइडेन भित्रिएसँगै आजदेखि डोनाल्ड ट्रम्प भने ४ वर्षे कार्यकाल सकेर बाहिरिँदै छन्।
जाँदाजाँदै चीनसँग आक्रमक बन्यो ट्रम्प प्रशासन
कार्यकाल समाप्त हुन अगाडि ट्रम्प प्रशासन चीनसँग आक्रमक देखिएको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले मंगलबार चीनले उइगर मुस्लिमहरुको नरसंहार गरेको आरोप लगाए।
अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सरकारमा विदेशमन्त्री बन्न लागेका एन्टोनी ब्लिंकनले पनि यस विषयमा सहमति जनाएका छन्।
पोम्पिओले चीन सरकारबाट अल्पसंख्यक मुस्लिमहरु दमित र प्रताडित बनेको बताए।
यसअघि नै मानवअधिकारवादी संस्थाहरुले प्रतिवेदन सार्वजनिक गर्दै उइगर मुस्लिममाथि चीनले ज्यादती गरेको विषय सार्वजनिक गरेका थिए।
चीनले सबै आरोपहरुको खण्डन गर्दै आएको छ। एजेन्सी

प्रतिक्रिया