राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संसदमा मेरो नागरिकता खारेज भएको हो? भनी प्रश्न गरेका छन्।
सोमबार संसद बैठकमा आक्रोसित मुद्रामा देखिएका सांसद महतोले सभामुख कृष्णबहादुर महरा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको नाम लिएर विवादित अभिब्यक्तिसमेत दिएका छन्।
आइतबार सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आठजना ब्यक्तिको नेपाली नागरिकताको प्रमाण पत्र खारेज गरिएको निर्णय सुनाएका थिए। नागरिकता खारेज गरिएका मध्ये एक जनाको नाम राजेन्द्र महतो पनि थियो। सोही विषयलाई लिएर कतिपय अनलाइनले नेता महतोको फोटो राखेर ‘राजेन्द्र महतोसहित आठ जनाको नागरिकता खारेज’ भन्ने समाचार लेखेका थिए।
सोही प्रशंगमा संसद बैठकमा महतोले भने, ‘कसैले कृष्णबहादुर महरा महाडकैत हो र आजीवन कारावासमा बसेको ब्यक्ति हो भनेर समाचार लेखिदिए के हुन्छ?’ त्यस्तै उनले नेकपा अध्यक्ष दाहालको नाम जोडेर यस्तै विवादित अभिब्यक्ति दिएका थिए। नाम मात्रै भनेर अर्को व्यक्तिलाई जोड्नु गलत भएको उनको भनाई थियो।
महतोको सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ। बैठकमा नेकपाका सांसद खगराज अधिकारी र कृष्णभक्त पोखरेलले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका थिए। महताेले पुष्पकमल दाहालको नाम लिँदै गर्दा सांसद अधिकारीले आपत्ति जनाएपछि उनी रोकिएका थिए।
नेकपा सांसदको मागपछि सभामुख महराले महतोको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।
सांसद कृष्णभक्त पोखरेलले कसैसँग उदाहरण दिँदा कृष्णबहादुर महराको नाम लिने कुरा स्वभाविक नभएको र संसदको मर्यादा र सम्मान पनि पर्याप्त नहुने र पुष्पकमल दाहालको नाम लिने कुरा पनि संसदीय अभ्यास र मर्यादाभित्र नपर्ने भन्दै रेकर्डबाट हटाउन माग गरे।
सभामुख महराले यस विषयमा अन्तिममा निर्णय लिने जवाफ दिएका थिए। अन्तिममा महराले भने, ‘विशेष समयमा बोल्ने माननीय सदस्यले बोल्नुभएको भाषाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। प्रतिनिधिसभा नियामावलीको दफा २१ (ख) र (ङ) बमोजिम प्रतिकुल हुनेगरी प्रयोग गरिएका शब्दहरु रेकर्डबाट हटाउन म सचिवालयलाई निर्देश गर्दछु।’

प्रतिक्रिया