प्रचण्ड-नेपाल नेतृत्वकाे नेकपाका स्थायी समिति सदस्य वर्षमान पुनले निर्वाचन घोषणापछि कामचलाउ हैसियतमा सीमित भइसकेको ओली सरकारले ‘फुलफेज’ सरकारका रुपमा काम गरिरहेको भन्दै आपत्ति जनाएका छन्।
उनले आफै निर्वाचन घोषणा गर्ने र पूर्ण अधिकार रहेको दाबी गर्ने प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरु अलोकतान्त्रिक भएको टिप्पणी गरे। संविधानमै प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने स्पष्ट उल्लेख भएको चर्चा गर्दै उनले ओलीले पूर्ण अधिकार छ भन्ने अनैतिक र गैरसंवैधानिक भएको टिप्पणी गरे।
‘कथित चुनाव घोषणापछि राजीनामा दिएको भए र राष्ट्रपतिले कामचलाउको चिठी दिएको भए वैधानिकताको सानो त्यान्द्रो भए पनि बाँकी रहन्थ्यो’, पुनले भने, ‘प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुनै मिल्दैन, केपी ओली अवैधानिक प्रधानमन्त्री हो।’
पूर्वमन्त्री पुनले कामचलाउ सरकारले संविधान र कानूनविपरीत दिएका आदेश पालना नगर्न सुरक्षा निकाय र कर्मचारीलाई आग्रह पनि गरे। एउटा गुट र व्यक्तिका लागि जे–जे भन्यो त्यही गर्दा पछि पछुताउनुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।
‘सुरक्षा निकाय र प्रशासनका कर्मचारीलाई कामचलाउन सरकारले दिएका निर्देशन संविधानसम्म छ कि छैन? कानूनसम्मत छ कि छैन? जनअभिमतअनुसार छ कि छैन? भन्ने विचार गरेर मात्र गर्न म अनुरोध गर्छु’, नेकपाको प्रचण्ड–माधव नेपाल पक्षका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई आइतबार बर्दियामा सम्बोधन गर्र्दै पुनले भने, ‘एउटा गुटका लागि, एउटा व्यक्तिका लागि भोलि पछुताउनुपर्ने अवस्था नआओस्। म अहिले नै सचेत गराउन चाहन्छु, सुझाव दिन चाहन्छु।’
यस्तै उनले संसद विघटनपछि गरिएका सबै काम असंवैधानिक हुने भन्दै संसद पुनस्र्थापनापछि ती सबै सच्याइने बताए।
‘प्रतिनिधिसभा विघटनपछि गरिएका सबै नियुक्ति, सरुवा र महत्वपूर्ण निर्णय पुनस्र्थापनापछि तत्काल सच्याइनेछ। त्यसैले खबरदार त्यसप्रकारका गैरकानूनी कामहरु नहोऊन्’, पुनले भने।
यस्तै आइतबारै बाँकेमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पुनले प्रधानमन्त्री केपी ओलीले संविधान मिच्नुका साथै जनताको अभिमतमाथि कुठाराघात गरेको टिप्पणी गरे।

प्रतिक्रिया