भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज (शुक्रबार) परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकमा भाग लिँदै छन्।
भारतीय समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा बिहीबार नयाँ दिल्ली पुगेका मन्त्री ज्ञवाल आज हैदराबाद हाउसमा बस्ने संयुक्त आयोगको बैठकमा सहभागी हुने भएका हुन्।
भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार परराष्ट्रमन्त्री ज्ञवाली र उनका भारतीय समकक्षी जयशंकरबीच आज बिहान ११ बजे भेटवार्ता हुनेछ । उनीहरूबीच आधा घण्टा औपचारिक वार्तापछि संयुक्त आयोगको बैठक बस्नेछ।
परराष्ट्र स्रोतका अनुसार बैठकमा सीमा विवाद समाधान, ईपीजी प्रतिवेदन ग्रहण, कोरोनाविरुद्धको खोप, ऊर्जा, कनेक्टिभिटीलगायत ४० भन्दा बढी विषयमा छलफल हुनेछ।
भारतले नेपाललाई दिने कोरोनाविरुद्धको खोप अनुदान पनि आजै घोषणा गर्ने कार्यक्रम छ।
तर मन्त्री ज्ञवाली दिल्ली पुगेकै दिन भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा विवादबारे भने अहिले छलफल नहुने संकेत गरेका छन्।
साप्ताहिक ब्रिफिङका क्रममा बिहीबार उनले भनेका छन्, ‘सीमा मुद्दाबारे हाम्रो स्थिति सबैलाई थाहै छ। तर संयुक्त आयोगको बैठक र सीमा सवाल छुट्टाछुट्टै संयन्त्र हुन्।’
यस्तै उनले नेपाल-भारत द्विपक्षीय साझेदारीबारे उच्च राजनीतिक तहमा समीक्षा हुने बताएका छन्। दुई देशबीचको विशेष र विशिष्ट सम्बन्ध अझ सुदृढ गर्न बैठकले राजनीतिक मार्गदर्शन दिने उनको भनाइ छ।
संसद् विघटनपछि भारत भ्रमणमा गएका ज्ञवाली सबैभन्दा उच्चपदस्थ अधिकारी हुन्।
कूटनीतिक स्रोतका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री ओलीको सन्देश सुनाउने कार्यक्रम पनि छ। तर मोदीसँग भेटवार्ताका लागि बिहीबार राति अबेरसम्म समय तय हुन सकेको छैन।

प्रतिक्रिया