भारतीय टेलिभिजन जी न्युजले सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्ने आपत्तिजनक रिपोर्ट प्रसारण गर्दा पनि सरकार किन चुप भनेर नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी-लेलिनवादी (माले) ले प्रश्न गरेको छ।
हालै प्रधानमन्त्री निवास बालुवाटारमै आएर प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरवार्ता लिएका जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर भ्रमपूर्ण तर्क गर्दै सगरमाथामा भारतले पनि दाबी गर्नुपर्छ भन्ने रिपोर्ट प्रस्तुत गरेका थिए।
यस्तो संवेदनशील विषय व्यापक बनिरहँदा पनि सरकार भने मौन रहेको भन्दै मालेका महासचिव सीपी मैनालीले विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन्। साथै उनले यस विषयमा नेपालले तुरुन्त गम्भीर आपत्ति प्रकट गर्दै भारतलाई आफ्ना सञ्चारमाध्यमलाई सचेत गराऊ भनी ध्यानकर्षण गराउन सरकारसँग मागसमेत गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियतासम्बन्धी यस्तो संवेदनशील विषयमा नेपाल सरकारको मौनता रहस्यपूर्ण छ। हामी नेपाल सरकारले भारत सरकारसमक्ष उपरोक्त विषयबारे गम्भीर आपत्ति जनाउँदै त्यसले आफ्ना सञ्चारमाध्यमलाई सही मार्गदर्शन गरोस् भनी त्यसको ध्यानाकर्षण गर्न जोडदार माग गर्दछौं।’
याे पनि :
जी न्युज प्रकरण प्रधानमन्त्री ओलीको राष्ट्रहित विरोधी कार्यको अर्काे उदाहरण : भीम रावल
माफी माग्दै जीन्युजका सम्पादकले भने– सगरमाथा नेपालकै हो, भारतले खोस्न खोजेको हैन (भिडियो)

प्रतिक्रिया