छापा खबर


ललितपुरबाट पक्राउ पर्ने बाँस्तोला विप्लवका वार्ता टोली सदस्य

ललितपुरबाट पक्राउ पर्ने बाँस्तोला विप्लवका वार्ता टोली सदस्य

नेपालखबर
माघ १, २०७७ बिहिबार २:३८,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन्।

बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ। सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

‘सरकारका मानिसहरूसँग अनौपचारिक तहमा हाम्रो कुराकानी भइरहेका थिए। वार्ताका लागि गम्भीरता देखाउँदै पार्टीको तर्फबाट तीन सदस्यीय टोली पनि गठन गरेका थियौं। तर, त्यसमध्येकै एक सदस्य गिरफ्तारीमा पर्नुभएको छ’, ती नेताले भने, ‘हामीले बनाएको वार्ता टोलीमा यी–यी नेता थिए भन्ने सरकारका मान्छेलाई कुनै न कुनै रूपमा सन्देश पुगिसकेको थियो।’

पार्टीभित्रको शक्ति क्षयीकरण, कोरोना महाव्याधीपछिको आर्थिक सामाजिक अवस्था, राजनीतिक संकटलगायतका कारण उक्त पार्टी सरकारसँग वार्ता गर्न तयार देखिएको थियो। त्यसका लागि पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली उसले बनाएको थियो। उक्त टोलीमा सचिवालय सदस्य बाँस्तोला र केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो सदस्य चिरन पुन सदस्य थिए।

केन्द्रीय समिति बैठकले मंसिर तेस्रो साता वार्ता टोली गठन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय उसले गोप्य राख्दै आएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरूसँग अनौपचारिक सम्पर्कमा रही वार्ता टोली गठन गर्ने र सरकारले पनि वार्ता टोली गठन गरी प्रतिबन्ध फुकुवा गर्दै औपचारिक वार्तामा बोलाउनुपर्ने गरी विभिन्न स्तरका नेताले सन्देश पुर्‍याएका थिए। विगतका सम्पर्क सूत्रहरूका काम सफल हुन नसकेपछि नयाँ शिराबाट फेरि अनौपचारिक तहमा दुवै पक्षले छलफल अघि बढाएका थिए।

प्रधानमन्त्री ओलीनिकट मानिने नेकपाका प्रदेश १ अध्यक्ष देवराज घिमिरेसँग पनि विप्लवका नेताहरूको अनौपचारिक संवाद बढेको थियो। तर, घिमिरेले अनौपचारिक तहमा विप्लवका नेतामार्फत आफूकहाँ वार्ताका लागि तयार रहेको सन्देश आए पनि ठोस रूपमा भने नआएको प्रतिक्रिया दिए।

‘उहाँहरूले वार्ताका लागि तयार भएको सन्देश मलाई पनि पठाउनुभएको थियो’, नेता घिमिरेले भने, ‘तर ठोस रूपमा केही प्रगति भएर आएको विषय थिएन।’ यसअघि ओली नेतृत्वको सरकारले नै समस्या समाधान गर्न सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति बनाएको थियो। उक्त समितिले अन्य पक्षसँग वार्ता गरी गत वर्ष सरकारलाई प्रतिवेदन बुझाए पनि विप्लवको पार्टीसँग भने वार्ता गर्न सकेको थिएन। पाण्डेसँग विप्लवका नेताहरूले अनौपचारिक संवाद भने गरेका थिए। तर, त्यो फलदायी हुन सकेको थिएन।

त्यसपछि भने ओलीनिकट नेताहरूसँगै सीधै विप्लवका नेताहरूको अनौपचारिक संवाद सुरु भएको थियो। त्यही क्रममा घिमिरेलगायत नेताको सम्पर्कमा विप्लवका नेता पुगेका थिए। पर्यटनमन्त्री भानुभक्त ढकाललगायतले पनि भेट गरेको विप्लवनिकट स्रोतले बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad