नागरिक अभियन्ता डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र निन्दनीय भएको बताएका छन्।
आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै पाण्डे र पहाडीले आमुक पार्टीको आन्तरिक किचलोलाई स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक र मुलुकको हितविपरीत रहेको बताएका हुन्। उनीहरुले प्रधानमन्त्री ओलीको गलत कदमलाई सच्याउँदै प्रतिनिधिसभा पुनः सुचारु हुने व्यवस्था गर्न समेत आह्वान गरेका छन्।
‘अमुक पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षा विरोधी र मुलुकको हित विपरीत छ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनकै अंशसमेत देखिएको यो कार्य अमान्य छ। यो गलत कदम सच्याउँदै प्रतिनिधिसभा पुनः सुचारु हुने व्यवस्था गर्न आहृवान गर्दछौं।’
उनीहरुले प्रधानमन्त्री ओलीको कदम प्रतिगमनका लागि औजार हुन पुगेको बताएका छन्।
त्यस्तै प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवाको ढुलमूले नीतिका कारण अहिलेको राजनीतिक अवस्था चिन्ताग्रस्त बनेको बताएका छन्।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको यो कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको छ भने आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको विषय भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नागरिकमा बढ्दै गएको वितृष्णालाई अन्त्य गर्न प्रमुख राजनीतिक दलहरुले विगतमा गरेका गल्तीहरुप्रति क्षमायाचना गरुन्।’

Shares

प्रतिक्रिया