नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनःस्थापना नभए चुनावमा जानुपर्ने बताएका छन्।
शनिबार संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले चुनावका लागि तयार रहन समेत कार्यकर्तालाई निर्देशन दिए।
‘संसद् पुनर्स्थापना भएन भने चुनाव हुने अवस्था आउँछ, चुनाव गराउन दबाब दिनुपर्छ’, उनले भने, ‘चुनाव लड्नका लागि तयार हुनुपर्छ।’
उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताउँदै अदालतमा विचराधीन मुद्दाका विषयमा कोही पनि बोल्न हुने बताए। उनले अदालतलाई प्भाव पार्नेगरी जुलुस निकाले यो गर, ऊ गर भन्न नहुने भन्दै अदालतको निर्णय सबैले मान्नुपर्ने बताए।
‘अदालतले जे निर्णय गर्छ, त्यो मान्नुपर्छ, अदालतलाई प्रभावित गर्नुहुँदैन’, उनले भने, ‘जुलुसको भरमा अदालतले निर्णय गर्नुहुँदैन। अदालतले विवेक पुर्याउने हो।’
उनले अदालतले जे फैसला गरे पनि संसद विघटन गराउने ओलीको कदमलाई आफूहरुले असंवैधानिक भनेको दोहो¥याए। ‘संविधानमा के लेखिएको छ, के भन्छ? भन्ने कुरा अदालतले भन्ने कुरा हो । तर, हामीले ओलीको प्रतिनिधिसभा विघटनको कदम प्रजातन्त्रविरुद्धको कदम हो, संविधानविरुद्धको कदम हो भनेका छौँ,’ सभापति देउवाले भने।
उनले अदालतले संसद विघटनलाई सदर गरे प्रचण्ड–नेपालले पनि चुनावमा भाग लिने भन्दै चुनावका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया