राजनीति


प्रधानमन्त्री ओली प्रतिनिधि सभाको हत्या गर्न घाँटी अठ्याएर बस्नुभएको छ : नेपाल

प्रधानमन्त्री ओली प्रतिनिधि सभाको हत्या गर्न घाँटी अठ्याएर बस्नुभएको छ : नेपाल

नेपालखबर
पुस २१, २०७७ मंगलबार ९:४७,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सबै राजनीतिक दल एक भएर सडक संघर्षमा उत्रिनुपर्ने बताएका छन्।

जनता समाजवादी पार्टी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले लामो छलफल र बहसपछि संविधानबाट हटाइएको प्रधानमन्त्रीको विशेषाधिकारलाई केपी ओलीले सनकको भरमा प्रयोग गरेको आरोप लगाए। उनले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध एक भएर आन्दोलनमा उत्रिनुपर्ने बताए।

‘एक जनाको सनक, एक जनाको गलत व्याख्याको भरमा यो मुलुकको भविष्य वर्वाद पार्न पाइँदैन, सबै राजनीतिक दल सँगसँगै भएर सडकमा उत्रियो,’ अध्यक्ष नेपालले भने, ‘देशमा राजनीतिक स्थिरिता, गणतन्त्र, संघीयता र समावेशिता जोगाउने हो कि होइन?, यहाँ गोरु मरेको चिन्ता होइन, काल पल्क्यो भन्ने चिन्ता हो।’

अध्यक्ष नेपालले गणतन्त्र ल्याउन मिलेर लडेको स्मरण गरे। ‘हामीले विगतमा पनि मिलेर एउटा संकट टारेका थियौं, अहिले पनि एकै ठाउँमा उभिनुपर्ने आवश्यकता आएको छ,’ उनले भने।

अध्यक्ष नेपालले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको गलत कदम सच्याउने विश्वास लिए।

उनले भने, ‘सम्मानित सर्वोच्च अदालतको माननीय प्रधानन्यायाधीशले नेपालको संविधानविरुद्ध, संविधानमै नभएको गलत कदम चाल्नेलाई सही बाटो देखाउनुहुेनछ भन्ने आशा र विश्वास छ।’

उनले प्रधानमन्त्री ओली प्रतिनिधि सभाको हत्या गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले घाँटी अठ्याएर बसेको बताए। उनले असंवैधानिक कदमविरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय जनमत एकतावद्ध भएको बताए।

‘केपी शर्मा ओलीजीबाट जुन असंवैधानिक कदम चालिएको छ, प्रतिनिधि सभाको हत्या गर्न खोजिएको छ उहाँ प्रतिनिधि सभाको घाँटी अठ्याएको अठ्यायै हुनुहुन्छ’, उनले भने, ‘यसका विरुद्धमा सिंगो राष्ट्रिय र अन्तर्राष्ट्रिय जनमत एकतावद्ध छ।’

उनले संविधान मिच्ने काम गरेका कारण ओलीलाई पार्टी अध्यक्षबाट हटाएर वैधानिक रुपमा दुई तिहाइ केन्द्रीय सदस्यले आफूलाई अध्यक्ष चयन गरेको बताए।

‘एक जना अध्यक्ष हुनुहुन्थ्यो, उहाँले संविधान मिच्ने काम गर्नुभयो, लोकतन्त्रमाथि धावा बोल्ने काम गर्नुभयो, निरकुंश र स्वच्छाचारी शासकको चरित्र देखाउनुभयो, त्यसबापत पार्टीले उहाँलाई अनुशासनको कारवाही गरेर अध्यक्षबाट हटाइसकेको छ र वैधानिक रुपमा दुईतिहाई केन्द्रिय सदस्यको समर्थनमा मलाई पार्टीको अध्यक्ष बनाइसकेको छ’, अध्यक्ष नेपालले भने, ‘अब कुनै द्विविधा छैन, उहाँलाई माया छ भने नेकपा ओली गुट राखे हुन्छ।’

 उनले ओली संघीयता, गणतन्त्र र समावेशिताको पक्षमा नभएको आरोप लगाए। ‘उहाँलाई लोकतन्त्र मात्र होइन गणतन्त्र मन परेको छैन, उहाँ गणतन्त्र, संघीयता समावेशिता प्रेमी होइन’, उनले भने, ‘तर विडम्बना उहाँ अध्यक्ष पदमा आशीन हुनुभयो, हामी सबै टुलुटुलु हेर्न विवश भयौं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad