सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले झापा जिल्लामा रहेको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाको आज उद्घाटन गरेका छन्।
तराईका जिल्लामा २३७ जनाको संख्या रहने गरी स्थापना भएका सीमा सुरक्षा कार्यालयहरु महानिरीक्षक खनाल सशस्त्र प्रहरी महानिरीक्षकको रुपमा नियुक्त भएपश्चात सांगठनिक पुनर्संरचनाका लागि तयार गरिएको ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५’ नेपाल सरकार मन्त्रिपरिषदद्वारा स्वीकृत भएपश्चात ६२१ जनाको संख्यामा रहने गणको रुपमा स्तरोन्नती भएका थिए।
जसका कारण तराईका जिल्लामा सशस्त्र प्रहरीको परिचालनमा वृद्धि भई सीमा सुरक्षा थप प्रभावकारी र मजवुद भएको सशस्त्रले जनाएको छ।
कार्यक्रममा महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरुलाई ईमान्दार, अनुशाशित, बफादार, नैतिकवान र व्यवसायिक भई नागरिकको सेवा, सुरक्षा, सहयोग तथा उद्दारमा उच्च मनोवल र दृढ संकल्पका साथ परिचालित हुन निर्देशन दिँदै देश र संगठनबाट आफूले के पाएँ भन्ने भन्दा पनि देश र संगठनलाई मैले के दिएँ भन्ने भावनाका साथ परिचालित भएमा सच्चा राष्ट्रसेवकको कर्तव्य निर्वाह हुने बताएका थिए।

कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनिका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो।
महानिरीक्षक खनालले आजै झापा जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरी जिल्लाको समग्र वस्तुस्थितीको बारेमा जानकारी लिएका थिए।
साथै उनले झापा जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका बोर्डर आउट पोष्टहरुको स्थलगत निरीक्षण तथा अवलोकन गरी बिओपीमा कार्यरत कर्मचारीहरुलाई निर्देशन प्रदान गरी जिल्लाका विभिन्न स्थानमा स्थानीय भद्र भलाद्मी एवं सर्वसाधारण नागरिकहरुसँग समेत छलफल गरी सुरक्षा समस्याहरुको बारेमा जानकारी लिएका थिए।

प्रतिक्रिया