राजनीति


सुदूरपश्चिमका ३० सांसद प्रचण्ड–नेपाल पक्षमा खुल्दा, ६ जना उभिए ओलीतिर

सुदूरपश्चिमका ३० सांसद प्रचण्ड–नेपाल पक्षमा खुल्दा, ६ जना उभिए ओलीतिर

गोकुल जोशी
पुस १८, २०७७ शनिबार १५:२२,

सुदूरपश्चिम प्रदेश सभाका ३९ जना नेकपा सांसदमध्ये ३० जना प्रचण्ड–नेपाल पक्षमा खुल्दा ६ जना सांसद मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन्।

सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले आह्वान गरेको बैठकमा सहभागी भएकामध्ये ६ जना प्रदेश सभा सदस्यले बैठकको निर्णयमा हस्ताक्षर नगरेर प्रधानमन्त्री ओलीको पक्षमा उभिएका हुन्।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा ३९ जना नेकपाका सांसद छन्।

तीमध्ये शनिवारको सो बैठकमा ३६ जना सहभागी थिए।

आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा भने काठमाडौंमा रहेका कारण उपस्थित भएनन्।

नेकपाको ओलीपक्षको केन्द्रीय सदस्यमा मनोनित भएका बोहराले त्यो पद अझै स्विकार नगरेको बताएका छन्।

भेलामा अनुपस्थित नेकपाबाट निर्वाचित बाँकी दुई जना सभामुख र उपसभामुख रहेको एक सांसदले बताए।

सो बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपालाई समर्थन गर्ने गरी तीन वटा निर्णय गरेको थियो।

सो निर्णयमा सो प्रदेश सभाका ६ सांसदले हस्ताक्षर नगरेर आफ्नो कित्ता क्लियर गरेका हुन।

प्रदेश सभा सदस्य पठान सिंह बोहरा, लिलाधर भट्ट, महेशदत्त जोशी, नेपालु चौधरी, रतन थापा र ग्याल्बु सिंह बोहराले निर्णयमा हस्ताक्षर गरेनन्। त्यसो त उनीहरु पहिलेदेखि नै ओली पक्षमै उभिँदै आएका हुन्।

बैठकमा छलफलको एजेण्डा नै नल्याएर सिधै निर्णय सुनाएपछि हस्ताक्षर नगरेको प्रदेश सभा सांसद पठान सिंह बोहराले बताए।

‘बैठकमा सुरुमा छलफलका एजेण्डा ल्याउनुपर्नेमा त्यसो नगरी एकलौटी रुपमा रेडिमेड निर्णय सुनाइयो। त्यसैले निर्णयमा हस्ताक्षर गरेनौँ,’ उनले नेपालखबरसंग भने।

नेकपाका सुदूरपश्चिम इन्चार्ज डा. भीम रावलको समेत उपस्थिति रहेको संसदीय दलको शनिवारको सो बैठकले संसद् विघटनको विरोध गर्ने, पार्टी फुट र विग्रहमा नलाग्न सबै जनप्रतिनिधिलाई आह्वान गर्ने र प्रदेश सरकारलाई थप गतिशील बनाउने निर्णय गरेको थियो।

यो पनि:

७७ जिल्लामा यसरी फुट्यो नेकपा : प्रचण्ड–नेपाल समूहमा ४४ अध्यक्ष, ६३ सचिव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .