कारोबार


आयल निगमको भलवारी डिपोमा लोड/अनलोड र मट्टीतेल भण्डारण क्षमता बृद्धि

आयल निगमको भलवारी डिपोमा लोड/अनलोड र मट्टीतेल भण्डारण क्षमता बृद्धि

प्रकाश न्यौपाने
पुस १८, २०७७ शनिबार १५:२०,

रुपन्देहीको भलवारीमा रहेको नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयमा रि–इन्जिनियरिङ गरी पहिलो चरणमा पेट्रोलियम पदार्थ लोडिङ/अनलोडिङ सेड, पार्किङ यार्ड, विद्युतीय प्यानल भवन र १४० किलोलिडर मट्टीतेल भण्डार गृह निर्माण गरिएको छ।

पेट्रोलियम पदार्थ लोड/अनलोड गर्दा समस्या भए पछि निगमले क्षमता बढाएको हो । यस्तै पार्किङ क्षमता पनि बढाइएको छ भने विद्युतीकरणलाई थप व्यवस्थित गरिएको निगमका प्रादेशिक कार्यालय भलवारीका प्रमुख प्रल्यांकर आचार्यले जानकारी दिए।

शनिबार नवनिर्मित संरचनाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगम संचालक समिति अध्यक्ष डा.बैकुण्ठ अर्यालले पेट्रोलियम पदार्थको लोड÷अनलोड गर्न संरचना निर्माणपछि सहज भएको बताए। उनले निमगसँगै पेट्रोलियम व्यवसायी पनि आधुनिक टेक्नोलोजीअनुसार चल्नु पर्ने जनाए। व्यवसायीका माग सम्बोधन गर्द आफूहरु सकारात्मक रहेको उनको भनाइ छ । व्यवसायीले निगमसँग कमिसन बढाउन माग गर्दै आएका छन्।

निगमकाअनुसार भलवारी डिपोमा १ करोड ५० लाख रुपैयाँ लागतमा लोड÷अनलोड गर्नसक्ने अन्तर्राष्ट्रि मापदण्डको ४ बाय लोडिङ/अनलोडिङ सेड निर्माण गरिएको छ। यो पूर्वाधार बन्नुअघि दैनिक ३ देखि ४ लाख लिटर पेट्रोलियम पदार्थ लोड/अनलोड गर्न सकिनेमा अब दैनिक १० लाख लिटर लोड/अनलोड गर्न सकिने छ।

‘व्यवसायीले लोड÷अनलोड गर्दा रातको १० बज्ने गरेको भनेर गुनासो गर्नुभएको थियो। अब त्यो समस्या हटेको छ, साँझ ७ बजेभित्रै लोड/अनलोड भइसक्नेछ’, निगम अध्यक्षसमेत रहेका मन्त्रालयका सचिव आचार्यले भने।

यस्तै, निगमले २ करोड २५ लाख लागतमा पार्किङ यार्ड निर्माण गरेको छ। यसअघि धुलाम्य रहेको पार्किङ यार्ड पक्की गरिएको छ भने एकैपटकमा एक सय ट्यांकर पार्किङ गर्न सकिने छ। पार्किङ गर्नुअघि एकैपटकमा जम्मा ५० वटा ट्यांकर मात्रै पार्किङ गर्न मिल्थ्यो। यसैगरी निगमले २६ लाख लागतमा विद्युतीय प्यानल भवनसमेत बनाएको छ। विद्युतलाई नियमित गर्न र यहाँबाट विद्युत कन्ट्रोल हुने जनाइएको छ।

यस्तै, १ करोड रुपैयाँ लागतमा ७०/७० किलोलिटर क्षमताका १४० किलोलिटर अट्ने दुईवटा मट्टीतेल भण्डारण ट्यांकी निर्माण गरिएको छ। क्षमता बृद्धि गरी तीन दिनलाई पुग्ने मट्टीतेल भण्डार हुने गरी ट्यांकी बनाइएको हो। यसअघि एकदिनलाई पुग्ने मात्रै मट्टीतेल भण्डार गर्न मिल्थ्यो। निगमले ४५ लाखमा क्याप्सीटेन्स अर्थिङ निर्माण गरेको छ भने ८० लाखमा दमकल र फायर इन्जिन पनि खरिद गरेको प्रादेशिक कार्यालय भलवारीका प्रमुख आचार्यले जानकारी दिए।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले व्यवस्थित र आधुनिक प्रविधिअनुसार निगमलाई अघि बढाउन लागिएको जानकारी दिए। उनले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बृद्धि गर्न लागि परेको जानकारी दिए। निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टले नेपालगंज र पोखराका मट्टीतेल ट्यांकीमा पेट्रोल भण्डारण गर्ने गरी योजना बनाइरहेको बताए। निगमका पदाधिकारीले निगमलाई नाफामा लैजान व्यवसायीसँगै कर्मचारीको पनि उत्तिकै भूमिका रहेको जनाउँदै आगामी दिनमा थप योजना बनाई काम गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .