राजनीति


वामदेव भन्छन्ः प्रचण्डले पार्टी मिलाउन कोसिस गर्नुस् न त भन्नुभयो, म निरन्तर लागिरहेको छु

वामदेव भन्छन्ः प्रचण्डले पार्टी मिलाउन कोसिस गर्नुस् न त भन्नुभयो, म निरन्तर लागिरहेको छु

नेपालखबर
पुस १७, २०७७ शुक्रबार १७:३७,

नेकपाका उपाध्यक्ष वामदेव गौतमले दुई समूहमा बाँडिएको पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने प्रतिवद्धता फेरि जनाएका छन्। शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेर दिउँसो राष्ट्रिय सभाको सदस्यका रुपमा पहिलो पटक बैठकमा उपस्थिति भएका गौतमले अहिले पनि पार्टी एकताको सम्भावना उत्तिकै रहेको दाबी गरे।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले आ–आफ्नो समूहमा सहभागी हुन आग्रह गरिरहेको तर आफु भने पार्टी एकताका लागि राष्ट्रिय अभियान नै घोषणा गर्ने तयारीमा रहेको गौतमले खुलाए।

राष्ट्रिय सभाको बैठकमा सहभागी भएर फर्कने क्रममा वामदेव गौतमले बोनश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग १३ बुँदामा यसो भनेः

१. नेकपा विभाजन भइसकेको छैन। निर्वाचन आयोगको कार्यालयबाट दुईवटा पार्टीको अलग अलग पहिचान सहित आयो भने बल्ल विभाजन भयो भनुँला।

२. म अर्को पक्षमा भएपछि कसरी दुईपक्षमात्र भयो? (पार्टीमा) तीन पक्ष भयो। मेरो कित्ता प्रष्ट छ। हाम्रो पार्टीभित्र तीन नम्बर कित्ता। एक नम्बर, दुई नम्बर कित्ता विभाजनतिर छन्। तीन नम्बर कित्ता मिलाउनेतिर।

३. पार्टी मिल्न सक्ने सम्भावना अझै छ। सर्वोच्च अदालतले फैसला गर्न बाँकी नै छ। अदालतले निर्वाचनको घोषणा गर्छ या संसद पुनस्थापना गर्छ त्यो बाँकी नै छ। सर्वोच्च अदालतको फैसलाभन्दा पहिला अर्को संभावना छ। तीन–चार वटा संभावनाहरु छन्, जसका निम्ति मैले अधिकतम प्रयत्न गर्छु, संभव भएसम्म। प्रयत्न भनेको संभव भएसम्म गर्ने हो। त्यसमा म चुक्दैन।

४. दुईवटा पार्टी मिल्ने संभावना छ। दुईवटा पार्टी मिल्ने प्रक्रिया हुन्छ। सर्वोच्च अदालतले फैसला गरिसकेपछिको अवस्थामा मिल्न सकिन्छ सकिन्न भन्ने एउटा चरण सकिन्छ। त्यसपछि अर्को चरण आउनसक्छ। निर्वाचन सकिएपछि बल्ल त्यो संभावना अन्त्य हुन्छ।

५. राष्ट्रिय अभियान होइन, म नेकपा एकता अभियान संगठित रुपमा अगाडि बढाउनेवाला छु। यो सुरु भइसक्यो, म सक्रिय छु त्यसैमा। केही दिनपछि त्यसको कामसहित घोषणा गर्छौैं।

६. प्रचण्डले आज (आफ्नो समूहमा) आउनुपर्यो भन्नुभयो, मैले आउन सक्दैन भनेँ। त्यसो भए मिलाउन कोसिस गर्नु न त भन्नुभयो। म निरन्तर लागिरहेको छु भनेँ।

७. प्रधानमन्त्रीले त दिनदिनै आउनुस् भन्नुहुन्छ। तर, काम केही छैन, त्यसैले जाँदैन।

८. म प्रतिनिधि सभा विघटनको अहिले पनि विपक्षमा छु। प्रतिनिधि सभाका सदस्यहरु प्रतिनिधिसभा विघटनको पक्षमा सायदै रहन्छन्। प्रधानमन्त्रीले विघटन गरेपछि प्रधानमन्त्रीकै पार्टीका सदस्य पनि भित्र चिढिएका हुन्छन्।

९. राष्ट्रिय सभामा म पहिलो पटक आएको हो। राष्ट्रिय सभा जीवन्त छ, मैले यत्ति भनेँ।

१०. निर्वाचन आयोगबारे प्रधानमन्त्रीले आज किन बोल्नुभयो मलाई केही जानकारी छैन। यो जानकारी प्रधानमन्त्रीले भन्दा निर्वाचन कार्यालयले दिनुपर्ने हो। प्रधानमन्त्रीले दिन जरुरी थिएन। त्यो किन दिनुभयो मलाई थाहा छैन।

११. अहिलेको अवस्था आउनुमा दुई वटै समूहको बराबरी (दोष) छ । त्यसकारण म मिलाउन खोजिरहेको छु। एउटाको घटी भए त त्यो घटितिरै लागिहालिन्थ्यो नि।

१२. मिल्ने संभावना देख्या छु, नदेख्या भए त म लाग्दै लाग्ने थिइनँ। सबैलाई एउटा जिज्ञासाको विषय बनिरहेको छ म किन बोलिराखेको छैन। म यसरी चुप लाग्ने मानिस होइन। तर, म पार्टी एकता गर्ने एउटा प्रमुख व्यक्तिको हैसियतले लागिरहनुपर्छ भनेर अन्तिम बेलासम्म लाग्छु। जब यो संभावना सबै हिसावले समाप्त हुन्छ त्यसपछि बन्द गर्छु।

१३. मसँग देशैभरबाट तपाईँको अभियानमा सामेल हुन्छौं भन्नेहरु अहिलेसम्म दशहजार व्यक्ति भइसकेका छन्। नपत्याउने भए किन आउँथे? एकता गराउने पक्षमा सबैभन्दा धेरै छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad