महोत्तरीको गौशाला नगरपालिकाले गत वर्ष चीनको सान्सी प्रान्तको सिन्चउ नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने र ६० करोड अमेरिकी डलर लगानी भित्र्याउने योजना अघि बढायो ।
भगिनी सम्बन्ध स्थापनामा प्रदेश २ सरकारले अवरोध ग¥यो भने लगानी भित्र्याउन संघीय सरकारले रोक्यो । चीनबाट लगानी ल्याएर ४० वटा उद्योगसहितको औद्योगिक क्षेत्र स्थापना गर्ने नगरपालिकाको योजना तुहियो । संघ र प्रदेशको अवरोध नभएको भए गौशाला नगरपालिका प्रदेश २ मा चिनियाँ सहरसँग भगिनी सम्बन्ध स्थापना गर्दै लगानी भित्र्याउने पहिलो पालिका बन्ने थियो।
१२ वैशाख ०७२ को भूकम्पबाट क्षतिग्रस्त २८ वटा सम्पदाको पुनर्निर्माण भारतीय सहयोगमा हुँदै छ । त्यसमा चीनसँग सीमा जोडिएका सिन्धुपाल्चोकका सात, रसुवाका चार तथा सोलुखुम्बु र धादिङका एक–एक गुम्बा पनि छन्।
त्यस्तै, नुवाकोटस्थित तीन गुम्बा तथा काठमाडौं, भक्तपुर र ललितपुरका ११ वटा सम्पदा पनि भारतीय सहयोगमा बन्दै छन् । यसअघि सिन्धुपाल्चोक लिसंखु–३ स्थित च्योइफेल कुन्डेलिङ गुम्बा भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण भएको थियो।
नेपाली भूमिमा दक्षिणी छिमेकी भारत चीनको सीमासम्म र उत्तरी छिमेकी चीन भारतीय सीमासम्म पुग्दै गरेका यी पछिल्ला उदाहरण हुन् ।
भारत काठमाडौंस्थित दूतावासमार्फत सञ्चालित साना विकास परियोजनाको माध्यमबाट पहाडी र हिमाली जिल्लासम्म पुगेको छ भने चीनले तराईका जिल्लाहरूमा सक्रियता बढाएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा विवेक पोख्रेल र उपेन्द्र पोखरेलले लेखेका छन्।
सन् २००८ यता भारतीय दूतावासले नेपालभर साना–ठूला गरी दुई सय ३७ आयोजनामा ३७ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेको छ । पछिल्लो समय उसले आफ्नो लगानी पनि पहाडी र हिमाली जिल्लातर्फ सोझ्याएको छ । अहिले २१ वटा हिमाली जिल्लामा भारतीय लगानीका ३० परियोजना छन्, जसमा ८८ करोड ४१ लाख लगानी छ ।
सन् २०१३ मा चीनले पनि भारतको जस्तै साना परियोजनामा सीधा लगानी गर्न पाउने प्रस्ताव नेपालसँग गरेको थियो । तत्कालीन चिनियाँ राजदूत ऊ चुन्ताईको यो प्रस्ताव नेपालले अस्वीकार ग¥यो । तथापि, हिमाली भेगका १४ वटा जिल्लामा त्यसयता विकास निर्माणका काममा चीन संलग्न छ । पछिल्लो समय उसले विभिन्न माध्यमबाट तराईमा पहुँच बढाउन खोजिरहेको छ, त्यसैको एउटा अंश हो भागिनी सम्बन्ध ।
पछिल्लो समय चीनका प्रान्त र सहरसँग भगिनी सम्बन्ध गाँस्ने लहर नै चलेको छ । ३० वैशाख ०७६ मा बागमती प्रदेशले गान्सु प्रान्तसँग र १८ असार ०७६ मा लुम्बिनीले सिचुवान प्रान्तसँग भगिनी सम्बन्ध गाँसेका छन् । त्यसअघिसम्म सम्बन्ध स्थापनाको यो परम्परा नगर तहमै सीमित थियो । अहिलेसम्म नौवटा स्थानीय तहले चिनियाँ नगरसँग भगिनी सम्बन्ध बनाइसकेका छन्।
विश्लेषक चन्द्रकिशोरले पछिल्ला वर्षहरूमा चीनको रुचि र प्रभाव तराईमा विस्तार भएको बताए । ‘तराईको सामाजिक र राजनीतिक क्षेत्रमा चिनियाँ चासो र सक्रियता बढेको छ,’ उनले भने, ‘तराईमा विभिन्न पेसा र व्यवसायमा संलग्नहरूको चीन भ्रमण पछिल्ला वर्षहरूमा बाक्लिएको छ ।’ पछिल्लो समय प्रदेश २ का जिल्लाहरूमा पनि चिनियाँ आइएनजिओहरू पुग्न थालेका छन् ।
परराष्ट्र मामिलाका शोधार्थी लेखनाथ पौड्यालको बुझाइमा नेपालका सबै क्षेत्रमा ‘छवि’ बनाउने उद्देश्यबाट भारत र चीनका गतिविधि केन्द्रित छन्, जसलाई ‘पब्लिक डिप्लोमेसी’ या ‘पिपुल्स डिप्लोमेसी’ भनिन्छ । ‘हिमाली र पहाडी भेगमा सकारात्मक छवि बनाउन भारत उद्यत् देखिन्छ भने तराईमा चीनको उद्देश्य पनि त्यही हो,’ उनले भने।

प्रतिक्रिया