राजनीति


प्रधानमन्त्रीको झुटाे दाबी : प्रचण्ड-नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन

प्रधानमन्त्रीको झुटाे दाबी : प्रचण्ड-नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ९:३१,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आफूहरु आधिकारिक नेकपा भएको र चुनाव चिन्ह सूर्य पाउनु पर्ने भनी दिएको निवेदनलाई निर्वाचन आयोगले फिर्ता गरेको दाबी गरेका छन्।

तर निर्वाचन आयोगले भने सो निवेदन फिर्ता नभएको र यथाअवस्थामै रहेको जानकारी दिएको छ।

‘आयोगमा आएका कागजात फिर्ता हुने कुरा हुँदैन, त्यस्तो भएको छैन,’ आयोगका सहायक प्रवक्ता कोमल धमलाले नेपालखबरसँग भने ‘आधिकारिकताको कुरा पछि निर्णय हुन्छ।’

अर्को पक्षका नेताहरुले पनि ओलीकाे सो दाबी झूठो भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार प्रवासी नेपालीहरुसँगको एक भर्चुअल अन्तरक्रियामा साे दाबी गरेका थिए।

‘उहाँहरु (प्रचण्ड–नेपाल पक्षका नेता) ले निर्वाचन आयोगमा निवेदन दिनुभएको रहेछ तर आयोगले उहाँहरुको निवेदन रित नपुगेको र अनुचित भनेर हिजो रद्द गरेर फिर्ता पठाइदियो,’ प्रधानमन्त्री ओलीले प्रवासी नेपालीहरुसँग भने, ‘आधिकारिक पार्टी हामी हौं भन्ने उहाँहरुको दाबी थियो, हिजो आयोगले यो अंग नपुगेको, व्यहोरा नपुगेको, कानुन उल्लेख नभएको, प्रमाण नभएको यस्तो खालको निवेदनको केहि अर्थ छैन भनेर फिर्ता पठाइदियो।’

उनले आफूहरु चाहिँ निर्वाचन आयोग नगएको र जानुपर्ने आवश्यकतै नभएको दाबी गरे।

‘किनभने हामी आधिकारिक पार्टी हौं, हामीसँगै चिन्ह र बहुमत छ किन जानुपर्‍यो?,’ उनले भने, ‘चुनावै नलड्नेहरु उहाँहरुलाई सूर्य चिन्ह किन चाहिएछ?’

‘झुठाे प्रचार’
तर यता प्रचण्ड–नेपाल पक्षका नेताहरुले भने प्रधानमन्त्रीले त्यस्तो दाबी गरेरै झूठ बोलेको बताए।

‘निर्वाचन आयोगमा चाहिने कागजात दिने, अपडेट गराउने काम गरेका छौं, कहाँबाट फिर्ता पठाउनु? त्यो नचाहिने कुरा हो, उनीहरु निर्वाचन आयोगलाई धम्क्याउन खोज्दैछन’, नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले नेपालखबरसँग भने, ‘हामीले हिजो मात्र आयोग पुगेर पार्टी दल दर्ता गर्दाको स्थितिमा भएको हेरफेर अनुसूचि १८ बमोजिमको फर्म्याटमा भरेर निर्वाचन आयुक्तहरुलाई बुझाएर आएका हौं।’

पोखरेलले झुठ कुरा गरेर प्रधानमन्त्रीले पराजित मानसिकता देखाएको टिप्पणी गरे।

‘प्रधानमन्त्रीले त्यसो भनेर हुन्छ? झुट बोलेर हुन्छ? यो झुठको पुलिन्दा हो। झुठ बोल्दै मानिसलाई धम्क्याउँदै भ्रम पार्ने यो पराजित मानसिकताको अभिव्यक्ति हो,’ पोखरेलले थपे।

त्यसै गरी निर्वाचन आयोगमा सो निवेदन दिने प्रक्रियामा सहभागी प्रचण्ड–नेपाल पक्षका अर्का नेता राजेन्द्र पाण्डेले पनि प्रधानमन्त्री ओलीले झुठो प्रचार गरेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad