राजनीति


ओलीको असंवैधानिक सरकार अब बढीमा ४ महिना : वर्षमान पुन

ओलीको असंवैधानिक सरकार अब बढीमा ४ महिना : वर्षमान पुन

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ४:३४,

नेकपा (प्रचण्ड-नेपाल पक्ष) स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओलीकाे ‘असंवैधानिक’ सरकार अब बढीमा चार महिना मात्र टिक्ने चेतावनी दिएका छन्। 

बुटवलमा नेकपा प्रचण्ड-नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री पुनले राजा महाराजाकाे शासन टिक्न नदिएका नेपाली जनताले ओलीकाे निरंकुशता धेरै दिन नसहने दाबी गरेका हुन्। 

‘ओलीले निरंकुश सत्ता चलाउने मनसायले असंवैधानिक बाटो हिँड्नुभएको छ,’ नेता पुनले भने, ‘राजा/महाराजाको निरंशुकता नटिकेको नेपालमा ओली निरंकुशता धेरै दिन टिक्न दिँदैनौं।’

ओलीले राज्य शक्तिको दुरुपयोग गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग आफूमातहत राखेको उनकाे आरोप छ। 

संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद-उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको नेता उनले आरोप लगाए। नेपालको सम्पूर्ण अर्थ-व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी ओली अगाडि बढेको आरोप पनि उनले लगाए।

तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी नेता पुनले दिएका छन्।

यही पुस ५ गते मन्त्रिपरिषद् बैठकमा ओलीले प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्दा आफूसहित केही मन्त्रीले प्रतिवाद गरेको प्रसंग उल्लेख गर्दै उनले मन्त्रिपरिषदका बहुमत सदस्यको भावनाविपरीत जबर्जस्ती प्रतिनिधिसभा विघटन गराएको बताए। 

नेता पुनले ओलीको असंवैधानिक कदममा सहयाेग गरेर राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्युत भएको टिप्पणी गरे।

‘मन्त्रीहरूको असहमति र आपत्तिबीच प्रतिनिधिसभा विघटनको सिफारिस गरियो’, उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङमा प्रतिनिधिसभा विघटन भएको अब घामजत्तिकै छर्लङ्ग भएको छ।’

फरक प्रसंगमा नेता पुनले केन्द्रीय समितिको झण्डै दुईतिहाइ र संसदीय दलमा बहुमत रहेकाले पार्टीको नाम नेकपा र चुनाव चिह्न आफूहरूले पाउनेमा शंका नरहेको दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad